कवि समर चेम्जोङ आभासको पहिलो कविताकृति नीलो परदेशको कृतिसमीक्षा तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ देवी नेपालले कवि समरलाई उज्वल कवितायात्राको शुभकामना दिनुभयो । कवितालेखनको यात्रा एक दशक वा त्यसपछिको समयले खासै फरक नहुने दृष्टान्त व्यक्त गर्दै हिजोको कविता प्रकाशन समय र अहिले समयको बीच तुलनात्मक भिन्नता प्रस्तुत गर्दै समरका कवितासङ्ग्रह नीलो परदेश वाध्यता र आँशुको रङ भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ कवि एवम् प्राज्ञ श्रवण मुकारुङले समरका कविता र कवित्वको मिहिनतवरले अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्ति वा कविलाई कविताको शक्तिले जोड्ने बताउँदै कवि मानवीयताको गायक हो भन्ने विचार प्रकट गर्नुभयो ।
नीलो परदेश कवितासञ्चयनभित्रका कवितामा कविद्वय दामोदर पुडासैनी किशोर र ज्योति जङ्गलले समीक्षात्मक टिप्पणी गर्नुभयो । जङ्गलले कविताको अर्थ र विस्तृतिको बयान र व्याख्यानको सीमा नहुने जिकिर गर्नुभयो । उहाँले चेम्जोङका कविताले भावुकता अत्यधिक भएकाले काव्यचेतभन्दा देशप्रेमको भाष्य बढी भएको जिकिर गर्नुभयो । समाजको सबैभन्दा तल्लोस्तरमा बाँचिरहेका नागरिकप्रतिको चिन्तन प्रायः कवितामा सघन प्रतिविम्बन भएको विचार व्यक्त गर्नुभयो ।
त्यस्तै, वरिष्ठ कवि दामोदर पुडासैनीले समरका कविता परदेशीएका नेपालीको दुःख र देश दुखेको पीडाको समग्र प्रस्तुति भएको विचार व्यक्त गर्नुभयो । समाज र सामाजिक परिवेशको परिष्कृति सापेक्ष नभएको गहिरो चिन्ता कवितामार्फत गरेको बताउँदै नीलो परदेशमा समाजलाई भ्रष्टिकरणमा लाने सत्ता र सरकारप्रति असन्तोष प्रकट गरेको भएर पनि बढी समसामयिक देखिएको बताउनुभयो ।
नीलो परदेशका कवि एवम् सगरमाथा साहित्य प्रतिष्ठानका संरक्षक समर चेम्जोङ आभासले आफ्नो कविता परीक्षणकालमा रहेको र पाठकसमक्ष पुगेपछि सच्चा प्रतिक्रिया पाउने आशा व्यक्त गर्नुभयो ।
साहित्य संगम नुवाकोटको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष अजीत क्षत्रीले कविताकृतिभित्र आफ्ना अनुभूतिका साथमा संस्थागत शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो । कवि रूपा थापा, रामप्रसाद मिश्रलगायतले कवितासञ्चयभित्रका कविता वाचन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।