शिक्षासेवी मोहनप्रसाद पौडेलको कविताकृति आदर्श जीवन एक समारोहका बीच लोकार्पण भएको छ । कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले गरेका हुन् ।
प्रमुख अतिथि शाहले कृति लोकार्पण गर्दै पौडेलका कवितामा जीवन जीउने कला पाइने बताए । हामी नेपाली संस्कार, संस्कृति र सम्पदाका धनी भएकाले यसलाई माली भएर संरक्षण गर्नुपर्नेमा पौडेलका कविताको जोड रहेको धारणा राखे ।
वडा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले पौडेलले आफ्नो सेवानिवृत्त जीवन साहित्य र समाजप्रति अर्पण गरेर आर्दश जीवनयापन गरी आदर्श समाजको कल्पना गरेको औल्याए । पौडेलले विश्वविद्यालयको डिग्रीलाई मात्र प्राथमिकता दिँदा हाम्रो भान्साको पाक, आरने दाइको आसी र खुकुरी कला कहिल्यै विश्वविद्यालयको इन्जिनियरिङ्गमा नपरेकोमा चिन्ता व्यक्त गरे ।
कृति समीक्षा गर्दै समालोचक असफल गौतमले पौडेलको शैक्षिक, सामाजिक र आध्यात्मिक व्यक्तित्वसँगै साहित्यिक व्यक्तित्व थपिएको बताए । कविताका सन्दर्भमा असफलले हामी हेर्र्दा सबै राम्रै राम्रा हुँदाहुँदै पनि समाज किन नरामो लयमा अगाडि बढिरहेको छ अब सबैले आत्मसमीक्षा गरेर अगाडि बढौं भन्ने सन्देश कविताले दिएको धारणा राखे ।
स्रष्टा मोहनप्रसाद पौडेलले सबैको सहयोगले कृतिले रूप पाएकाले कमी कमजोरीलाई औल्याएर आगामी दिनमा थप प्रेरणा दिनका लागि आग्रह गरे ।
स्रष्टा परिचय राख्दै दुर्गा गौतमले पौडेललाई सिर्जनशील व्यक्तित्वका रुपमा परिचित गराइन् । उनले २००१ सालमा घार्मीमा जन्मेका पौडेल लामो समय शिक्षण सेवामा आवद्ध रहेर सेवानिवृत्त जीवन समाजसेवा र साहित्यसेवामा लागेका स्रष्टाका रूपमा चिनाइन् ।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलले ७७ वर्षको उमेरमा साहित्य साधनामा लागेका मोहनप्रसाद पौडेललाई पछिल्लो पुस्ताका प्रेरणाको स्रोत र प्रतिष्ठानको गौरवका रुपमा रहेको औल्याए ।
कार्यक्रममा साहित्यकार रोशन तिमिल्सिना, संस्थाका पूर्व अध्यक्ष कुलबहादुर केसी, इन्दु भट्टराई, समाजसेवी ऋषिराम सापकोटा, कृतिका प्रकाशक जयराम पौडेललगायतले पौडेलको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।