लघुकथा समाज नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको दुई सम्मानहरूको घोषणा गरेको छ । समाजको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले यस वर्षकाे सम्मान कथाकार मधुवन पाैडेल र हरिप्रसाद भण्डारी लाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।
समाजले ‘सावित्री–केशर कथा सम्मान–२०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील कथाकार मधुवन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानका साथ पुरस्कार राशि २१ हजार रुपैयाँ नगद रहेको छ ।
त्यस्तै, समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानका साथ पनि नगद राशि २१ हजार रुपैयाँ प्रदान गरिने समाजले जनाएको छ ।
सम्मानित कथाकार पौडेल ३० को दशकदेखि नै साहित्य लेखनमा सक्रिय छन् । कूटनीतिक सेवामा समेत रहेका पौडेलको ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायत कथासंग्रह प्रकाशित छन् ।
लघुकथाकार भण्डारीका तीनवटा लघुकथाकृति प्रकाशित भइसकेका छन् । उक्तसहित विभिन्न विधाका उनका करिब ११ वटा कृति प्रकाशित छन् । विनय कसजूका लघुकथामा व्यंग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यंग्य विषयमा विद्यावारिधि गर्दैै छन् ।
दुवै सम्मान परिस्थिति सहज हुनासाथ प्रदान गरिने समाजले जानकारी गराएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।