नेपाली साहित्य समाज क्यानडाले फेब्रुअरी महिनाको ६ तारिख, आइतबार आफ्नो स्थापना दिवस, सरस्वती पूजाको दिन भर्चुअल कवि गोष्ठीको आयोजना गरेर मनाएको छ।

यो नेपाली साहित्य समाज क्यानडाको २१ औँ मासिक भर्चुअल कविता वाचन कार्यक्रम हो। संस्थाका महासचिब मोहन खरेलले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व अध्यक्ष खेम गुरागाईले गर्नु भएको थियो।
कार्यक्रमको शुरुमा कविता वाचन सँगै समाजका सल्लाहकार गोविन्द सिंह रावतले नेपाली साहित्य समाजको स्थापना, यसले गरेका महत्त्वपूर्ण कार्यहरू र नेपाली भाषा, साहित्यको संरक्षण र सम्बर्धनमा क्यानडाका साहित्यकारहरूलाई एक ठाउँमा ल्याउन समाजले खेलेको भूमिकाको सन्दर्भमा चर्चा गर्नु भएको थियो।

गोविन्द सिंह रावत (स्कारोबोरो), युवराज भण्डारी (मन्ट्रियल), राजेन्द्र कार्की (भ्यानकुभर), पुण्यसागर मरहट्टा (ह्यामिल्टन), रविन थपलिया (टोरण्टो), गोपिकृष्ण काफ्ले (ब्राम्पटन), रविन्द्र लम्साल (टोरण्टो), शिशिर पाण्डे (टोरण्टो), खेम गुरागाईँ (टोरण्टो), तुलसी धरेल (भान), मुक्ति गौतम (टिमिन्स), मोहन खरेल (टोरण्टो) ले कविता, गजल, गीत, बाल कविता, तथा सरस्वती बन्दना वाचन गर्नु भएको थियो।

समापनमा सभापति खेम गुरागाईँले नेपाली साहित्य समाजले आउँदो जुलाईमा आयोजना गर्न लागेको अमेरिका तथा क्यानडाका कविहरूको जमघट “नायग्राफल्समा सीमा वारिपारिका कविहरूको कवि गोष्ठी” का सन्दर्भमा चर्चा गर्नु भएको थियो।

मुक्ति गौतम
क्यानडा