कृष्ण धरावासी

सामाजिक सञ्जाल टिकटकले सर्वसाधारणलाई पनि सेलिब्रिटी बन्ने अवसर दिइरहेको छ भने सेलिब्रिटी पनि के कम ? त्यसैले त अहिले हरकोही सेलिब्रिटी टिकटकमा रमाउन थालेका छन् ।

सिनेमाका कलाकारहरू मात्र टिकटकमा छाउने होइन, पछिल्लो पटक मदन पुरस्कार विजेता कृष्ण धरावासी पनि थपिएका छन् ।

अहिले टिकटकमा साहित्यकार कृष्ण धरावासी पनि व्यस्त हुन थालेका छन् । धरावासीकी बुहारीले टिकटक चलाएको देखेपछि धरावासीले पनि नयाँ सञ्जालमा जोडिने रूचि देखाएका हुन् ।

धरावासीले टिकटकमा जोडिएसँगै युवासँग सामीप्य बढाउन सजिलो भएको बताएका छन् । उनी भन्छन्, “ यो टिकटक भन्ने जिनिस चाहिँ सामाजिक सञ्जालको हाइकु, मुक्तक रहेछ । पन्ध्र सेकेण्डमा त हाइकु र मुक्तक नै वाचन गर्न सकिन्छ ।”

धरावासीले आफ्नो टिकटकमा विभिन्न लाइभ कार्यक्रम, कथाका अंशहरूको भिडियो पोस्ट गर्दै आएका छन् । यस टिकटकलाई उनी साहित्यिक टिकटकको उपनाम दिने गरेको बताउँछन् ।

विगत तीन हप्ताबाट टिकटक चलाइरहेका धरावासीको लगभग ४५ सय फलोर्अस पुगिसकेका छन् । टिकटक चलाउनेहरूका लागि यति छोटो समयमा यत्तिका धेरै फलोअर हुनु खुसीको कुरा भएको धरावासी बताउँछन् ।

आउँदा दिनमा यस प्लेटफर्मलाई अझ बढी सदुपयोग गर्ने धरावासीले बताए ।