युवाकवि चारघरे ठिटोको कविता संग्रह ‘अनुत्तरित प्रश्नहरू’ विमोचित भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीद्वारा पोखरामा आयोजित एक कार्यक्रममा सो पुस्तकको विमोचन भएको हो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश श्रेष्ठले पुस्तकको विमोचन गर्नु भएको हो । उहाँले राष्ट्रसेवकका रुपमा कार्यरत चारघरे ठिटोलाई सफल साहित्यिक यात्राको कामना गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित उत्सवले कवि चारघरे ठिटोलाई सम्भावना भएका कविका रुपमा चित्रित गर्नुभयो ।
उहाँले सगरमाथा साहित्य प्रतिष्ठान देश-विदेशमा रहेका सबै पुस्ताका सर्जकलाई एक आपसमा जोड्ने र साहित्यको एकीकृत उत्थानका लागि क्रियाशील रहेको बताउनु भयो ।
उहाँले प्रतिष्ठानले आगामी दिनमा प्रकाशनगृह सन्चालन गरेर अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो । कवि/गजलकार दीपक समीपले कवि चारघरे ठिटोलाई संक्षिप्त शुभकामना मन्तव्य दिनुभयो । अनुत्तरित प्रश्नहरूका सर्जक चारघरे ठिटोले आफू साहित्यमा बामे सर्दै सरेको बालक भएकाले सबैको मायाको अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रमको स्वागत युवा कवि रोशन तिमिल्सिनाले गर्नु भएको थियो भने कवि माधव खतिवडाले अनुत्तरित प्रश्नहरु कविता संग्रहबाट एउटा कविता वाचन गर्नुभएको थियो । पुस्तकमाथि युवा कवि/समीक्षक टुकादेवी आचार्यले समीक्षा गर्नुभयो । कार्यक्रमको सभापतित्व सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीका अध्यक्ष शम्भु अर्यालले र सञ्चालन सचिव लिली अधिकारीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।