नियात्रा समाज नेपालको आयोजनामा आयोजित एक समारोहमा पवन आलोक पुरस्कार नियात्राकार भीष्म उप्रेतीको नियात्रा कृति ‘हिमाल शेर्पा र यती’लाई अर्पण गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवं पुरस्कार छनोट समितिका सदस्य वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले उक्त पुरस्कार भीष्म उप्रेतीलाई हस्तान्तरण गर्नुभएको हो । २५ हजार रूपैयाँ राशी, प्रमाणपत्र र दोसल्लाले उहाँलाई सम्मान गरिएको थियो ।

पवन आलोक नियात्रा पुरस्कार कोष र नियात्रा समाज नेपालका बीचमा भएको सम्झौताअनुरुप पहिलो पटक अर्थात २०७७ सालको पवन आलोक नियात्रा पुरस्कार अर्पण गर्नका लागि प्रारम्भिक छनौटमा परेका ५ कृतिहरुको सूची सार्वजनिक भएको थियो ।

ती कृतिहरुमध्ये हिमाल, शेर्पा र यतीलाई पवन आलोक पुरस्कार दिने निर्णय गरिएको थियो । उक्त कृतिमा विश्वप्रसिद्ध गन्तव्यको रुपमा रहेको सगरमाथाको आधारशिविरसम्मको पदयात्रालाई गरिएको सम्मान, त्यस क्षेत्रको शाब्दिक पथप्रदर्शन र हिमाल तथा अध्यात्मको सुन्दर विम्बात्मक संयोजन गरी नेपाली नियात्रासाहित्यको लेखनमा पृथक शैलीको योगदान पु-याएबापत ‘हिमाल शेर्पा र यती’ छनोटमा परेको थियो ।

कार्यक्रममा पुरस्कार दाताको रुपमा श्रीमती रेखा कँडेलले आफूले घरखर्चबापत जोगाएको केही रकम सँगालेर तीन लाख पचास रुपैयाँको अक्षय कोष खडा गरी उक्त पुरस्कार स्थापना गरेको बताउनुभयो ।

हालसम्म २१ वटा कृति प्रकाशन गर्नुभएका भीष्म उप्रेतीका बहुआयामिक पाटाबारे श्रीओम श्रेष्ठ ‘रोदन’ले बोल्नुभएको थियो भने पुरस्कृत व्यक्तित्व भीष्म उप्रेतीले नियात्रा समाज र पुरस्कार दाताप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

निसनेका उपाध्यक्ष मोहन चापागाईले स्वागत भाषण गर्नुभएको थियो भने संस्थाकी प्रभा बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा जय छाङ्छा, इल्या भट्टराई, सुशीला देउजा, चन्द्रकान्त आचार्य, तेजप्रकाश श्रेष्ठ, शर्मिला खड्का दाहाल, कृष्ण प्रसाई, नन्दु उप्रेती, प्रा.डा. गोविन्दमानसिंंह कार्की, प्रमोद प्रधान, राजेन्द्रमान डंगोल, जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, इन्दु तुलाधर, शंकर भारती लगायत अन्य स्रष्टाको उपस्थिति थियो ।