
न्युजिल्याण्डमा सिचाईँ विज्ञका रुपमा कार्यरत डा. वीरेन्द्र केसीको गजल सङ्ग्रह ‘किवीको देशमा डाँफेको गुञ्जन’बाट प्राप्त लेखस्व साहित्यपोस्टलाई दिने घोषणा गरेका छन् । भाषा–साहित्यमा अतुलनीय प्रयास गरेको भन्दै डा. केसीले साहित्यपोस्टलाई सहयोग गर्ने घोषणा गर्नु भएको हो । यसअघि प्रकाशित उहाँको प्रथम कविता सङ्ग्रह ‘आमाको काखमा दुखेको देश’को रोयल्टी पनि साहित्यपोस्टलाई दिने घोषणा गर्नु भएको थियो ।
साहित्यपोस्टको सहयोगमा प्रकाशन भएको नयाँ गजल सङ्ग्रह ‘किवीको देशमा डाँफेको गुञ्जन’ आइतबार विमोचन हुँदैछ । डा. केसीकी सासूआमाको जन्मदिनको सुअवसर पारी पुस्तकलाई अनलाइनमार्फत विमोचन गर्न लागिएको हो । उक्त कार्यक्रमलाई साहित्यपोस्टको पेजबाट लाइभ पनि गरिनेछ ।
‘नेपाली साहित्यको संरक्षण र उन्नयनका लागि साहित्यपोस्टले गरिरहेको कार्यबाट साहित्यमा सयौँ नयाँ लेखक जन्मने सम्भावना देखेँ,’ डा. केसीले भन्नुभयो, ‘साहित्यपोस्टको सहयोग नभएको भए मेरो पुस्तक पनि यति चाँडै प्रकाशन हुने थिएन । यो रकम अवश्य पनि थोरै होला तर यसले अरुलाई पनि सहयोग गर्ने बाटो खुल्ला हुनेछ भन्ने विश्वास लिएको छु ।’
विद्यायलय अध्ययन गर्दाताकादेखि नै साहित्यमा रुचि राख्नुहुने केसीका दर्जनौँ रचनाहरू डायरीमा थन्किएका थिए ।
साहित्यपोस्टको प्रकाशनदेखि नै साहित्यपोस्टसँग जोडिनु भएका केसीलाई पाठकको हौसलापछि सङ्ग्रह प्रकाशन गर्ने हौसला बढेको बताउनु भएको छ ।
‘म आफूलाई कवि वा गजलकारका रुपमा कहिल्यै सोच्दिन थिएँ । म रहरे कवि हुँ भन्ने लाग्दथ्यो तर साहित्यपोस्टका हजारौँ पाठकहरूले मलाई पढ्नुभयो र केहीले उत्साह दिनुभयो,’ डा. केसी भन्नुहुन्छ, ‘म अझै पनि आफूलाई कवि भन्न डराउँछु तर डायरीमा लेखिएका रचना बाहिर आउनु पर्छ भन्ने सोचले यसलाई बाहिर ल्याएको हुँ ।’
उक्त पुस्तकलाई अग्रज गजलकार डा. घनश्याम न्यौपाने “परिश्रमी” र डा. केसीका मातापिताले विमोचन गर्दै हुनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

