
संयुक्त अरब इमिरेट्सको विश्व व्यापारको केन्द्रको रूपमा परिचित दुबई शहरबाट यसै महिना विश्व कविता वृक्ष नामको वृहत् कविता एन्थोलजी प्रकाशन भएको छ ।
विश्वका १९२ देशका ४०० भन्दा बढी कविका कविताहरू समावेश भएको यो एन्थोलजी अलमसिराह मेडिया एण्ड हेरिटेज कन्सलटेसनले प्रकाशित गरेको हो ।
आशा, प्रेम र शान्ति जगाउने कसिमका कविताहरू समावेश भएको यस सङ्ग्रहमा नेपालका समेत ६ जना कविहरूको कविता समावेश भएको छ । नेपाली कविहरूमा मञ्जु काँचुली, कृष्ण प्रसाईं, भीष्म उप्रेती, केशव सिग्देल, चन्द्र गुरुङ र गोधूलि दिनेशका कविताहरू यस संग्रहमा प्रकाशित भएका छन् ।
व्यापारिक केन्द्र दुबईबाट यस किसिमको वृहत् साहित्यिक कृति प्रकाशित पहिलोपटक प्रकाशित भएको कुरा यसका सम्पादक अडेल खोजम बताउँछन् ।
नोबेल साहित्य पुरस्कारका लागि मनोनयनमा परेका कविहरू समेत समेटिएको यस कृतिमा नेपाली कविहरूको कविताले समेत ससम्मान स्थान पाउनुले नेपाली कविहरूका कविता पनि विश्व कवितास्तरका छन् र नेपाली कविहरूले पनि बिस्तारै नेपाली कवितालाई अन्तर्राष्ट्रियकरण गर्न सकारात्मक भूमिका खेलिरहेका छन् भन्ने देखाउँछ ।
साहित्यपोष्ट यस एन्थोलजीमा समावेश नेपाली कविहरूलाई बधाई ज्ञापन गर्दछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

