नेपाली माटो सुहाउँदो रूपमा नामाङ्कन तथा काव्यिक उपविधाको रूपमा सैद्धान्तिकरण र स्थिरीकरण गरेर सूक्ष्म संरचना भएको बिम्बात्मक र प्रतीकात्मक रचनाको रूपमा बाछिटालाई स्थापित गर्नुभएका अमर त्यागीले साहित्यपोस्टसँग मिलेर बाछिटा प्रतियोगिता सञ्चालन गर्नुहुने भएको छ । नयाँ नयाँ विधा-उपविधामार्फत् नेपाली भाषा र साहित्यको समुन्नयनमा लागिरहेको साहित्यपोस्टले स्रष्टा त्यागीसँग मिलेर हरेक साता बाछिटा प्रतियोगिता सुरू गर्न लागेको हो ।

प्रतियोगितामा विजयी बाछिटाकारले हरेक साता नगद पुरस्कारका साथमा बाछिटाका महत्वपूर्ण कृतिहरू प्राप्त गर्नुहुनेछ । ५० साता पुगेपछि पुरस्कृत बाछिटाहरुको संयुक्त सङ्ग्रह प्रकाशन हुने र उत्कृष्ट तीन बाछिटाकारहरूले १०-१० हजारका दरले थप पुरस्कारका साथै सार्वजनिक रूपमा सम्मान गर्ने योजना रहेको साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

प्रतियोगितामा बाछिटा प्रवर्तक अमर त्यागी एवं बाछिटामा विशिष्टीकरण गर्नुभएका व्यक्तित्वहरू निर्णायक रहने जानकारी पनि गराइएको छ । बाछिटाको उन्नयनमा दिलोज्यानले लाग्नुहुने त्यागीले नै प्रतियोगितालाई एउटा प्रोजेक्टको रूपमा प्रायोजन गर्नुहुनेभएको छ भने प्रतियोगिताको व्यवस्थापन साहित्यपोस्टले गर्ने छ । बाछिटाका सहप्रवर्तक स्रष्टा खगेन्द्र बस्याल, बाछिटा अभियन्ताहरू निरू गौतम, भारती न्यौपाने,सावित्रा पाण्डे,विष्णु भट्टराई, अम्बिका धिताल, केशव न्यौपाने, भरत सिग्देल, शेष पौडेल श्याम माकजु, शिव खनाल, लता पौडेल, सुरेश काफ्ले आदिका साथै विद्वत् साहित्यिक व्यक्तित्वहरू डा. लक्ष्मण प्रसाद गौतम,डा. घनश्याम न्यौपाने,डा. नारायण गैरे, चेतनाथ धमला आदिको निरन्तर साथ सहयोग रहने प्रतियोगिताका सञ्चालक त्यागीले बताउनुभएको छ ।

साहित्यपोस्ट व्यवस्थापन विभागले विभिन्न प्रतियोगिता गरिरहेको छ । पत्रिकाले फोटो कविता प्रतियोगिता र मुक्तक प्रतियोगिता सम्पन्न गरिसकेको छ भने लघुकथा र गजल प्रतियोगिताका अन्तिम चरणहरू चलिरहेका छन् ।

‘बाछिटा नेपाली साहित्यको नवप्रवर्तित मौलिक काव्यिक उपविधा भएकाले यसलाई प्रवर्तक गर्नुपर्छ भन्ने इच्छा भएर हामीले यो प्रतियोगिता सुरू गर्न लागेका हौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘बाछिटा झट्ट हेर्दा जापानी हाइकुजस्तै संरचनाका देखिए तापनि यसको सैद्धान्तिकरण र संरचनात्मक स्थिरीकरणका दृष्टिले मलाई उत्कृष्ट काव्यिक उपविधा लाग्यो । यसलाई पत्रिकामा पर्याप्त स्थान दिइरहेको अवस्थामा प्रतियोगिता गर्दा अझ धेरै लेखक आकृष्ट हुने देखेपछि हामीले यसलाई प्रतियोगिताका रूपमा सञ्चालन गर्ने निर्णय गरेका हौँ ।’

लघुकथा, मुक्तक, गजल र फोटो कविता प्रतियोगिताजस्तै बाछिटा प्रतियोगिता पनि सफल रूपमा सञ्चालन हुने विश्वास साहित्यपोस्ट व्यवस्थापन विभागको छ ।

साहित्यपोस्टमा साप्ताहिक रूपमा बाछिटा प्रकाशनमाला प्रस्तुत गरिरहनु भएका अमर त्यागी र साहित्यपोस्टको संयुक्त तत्वाधानमा बाछिटा प्रतियोगिता फागुन ७ गतेदेखि नियमित रूपमा सुरु हुन लागेको जनाइएको छ । त्यागीको सम्पादनमा साप्ताहिक बाछिटा प्रकाशनमाला पनि जारी रहनेछ ।

प्रतियोगीहरूले हरेक साता मौलिक १० वटा बाछिटा पोस्ट गर्नुपर्ने छ । ती बाछिटा सूचना प्रकाशन भएको समाचारको मुन्तिर राख्ने गरी व्यवस्था गरिएको साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ । कमेन्ट बक्समा प्रकाशित बाछिटाहरुमध्येबाट हरेक साता तीन जना उत्कृष्टलाई नगद १-१ हजार रूपैयाँ पुरस्कारसहित विभिन्न पुस्तकहरू उपलब्ध गराइने जनाइएको छ । वर्षको अन्त्यमा १ सय ५० जना उत्कृष्ट बाछिटाकारहरुका १ हजार ५ सय बाछिटाहरू, सैद्धान्तिक विवेचनासहितको पुस्तक प्रकाशन हुने जनाइएको छ ।

‘सिद्धान्तविनाको कुनै पनि साहित्यिक रचनाको जन्म हुनसक्दैन, बाछिटा मौलिक सिद्धान्तसहित जन्म भएको हो र सैद्धान्तिक रूपमा बाछिटा लेखन स्थिरीकरणतर्फ उन्मुख भइरहेको छ। बाछिटा लेखनको व्यापकताका निम्ति प्रचार प्रसार पनि हुनुपर्दछ ।’ बाछिटाका प्रवर्तक अमर त्यागी भन्नुहुन्छ, ‘यस्ता प्रतियोगिताले लेखन र प्रचार दुवै हुने भएकाले साहित्यपोस्टजस्तो नेपाली भाषा र साहित्यको लोकप्रिय (इ) दैनिकसँग हामीले सहकार्य गर्न लागेका हौँ ।’

स्रष्टा अमर त्यागी र साहित्यपोस्टका प्रधानसम्पादकबीच प्रतियोगितासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भैसकेको जनाइएको छ ।

बाछिटा प्रतियोगितामा सबै अभियन्ता र सर्जकहरू सहभागी हुन पाउनेछन् ।