पछिल्लो समय निकै लोकप्रिय हुन थालेको क्राउडफन्डिङ लगानी, स्वतन्त्र लेखकहरूका लागि पनि वरदान बन्न पुगेको छ । युरोप अमेरिकातिर आफूले प्रकाशन गर्न लागेको उपन्यासको विषयवस्तु रूचे पाठकहरूले नै अग्रिम लगानी गरिदिएर पुस्तक प्रकाशन गर्ने वातावरण तयार पारिदिन्छन् ।

यही मेसोमा रामचन्द्र खत्रीले ‘किकस्टार्टर’ वेबसाइटमा आफ्नो नयाँ ग्राफिक उपन्यास बजारमा ल्याउन पाठकहरूलाई अग्रिम लगानी गर्न अभियान शुरू गरेका छन् । किकस्टार्टर ख्यातिप्राप्‍त प्लेटफर्म हो भने ‘ग्राफिक नोभेल’ अमेरिकी प्रकाशन बजारमा पछिल्लो समय निकै चलेको विधा हो ।

खत्रीले नेपाली माओवादी द्वन्द्वमा आधारित रहेर ‘जस्टिस’ लेखेका छन् । यो द्वन्द्वका कारण उठीबास भएकी एक किशोरी र उनको परिवारको कथा हो ।

ग्राफिक नोभेल
रामचन्द्र खत्रीले आफ्नो नयाँ ग्राफिक नोभेल ‘जस्टिस’का लागि जनवरी २८ देखि किकस्टार्टरमा ‘क्राउडफन्डिङ्ग’ क्याम्पेन’ सुरु हुने जनाएका छन् । एक महिनासम्म चल्ने यो क्याम्पेन नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक नोभेल छपाएर वितरण गर्नका लागि रकम उठाउने उद्देश्यका साथ सुरु गरिएको हो । सन् १९९६ देखि एक दशकसम्म नेपालमा चलेको माओवादी द्वन्द्वकालको घटनामा आधारित कथा हो, ‘जस्टिस’ ।

ग्राफिक नोभेल एक किशोरी र उनको परिवारले न्यायप्राप्‍तिका लागि गरेको सङ्घर्षमा आधारित छ ।

के छ जस्टिसमा र यो क्याम्पेन किन?
दुर्गम गाउँमा बस्ने तारा अनि उनको परिवार माओवादी छापामार र पुलिस प्रशासनको दोहोरो चेपुवामा पर्दछन् । माओवादीलाई खान-बस्न दिएको आरोपमा उनीहरू पुलिस प्रसाशनको तारो बन्न पुग्दछन् भने व्यक्तिगत रिसइवी र परिवारको एकल छोरालाई जनयुद्धमा नपठाएको भन्दै उनीहरू तत्कालीन माओवादी विद्रोहीको समेत निशानामा पर्दछन् । अन्ततः परिवारको उक्त सदस्य एकाएक बेपत्ता हुन पुग्दछ र कथाको अन्त्यसम्म उसको अवस्था अज्ञात रहन्छ । परिवारको सदस्य बेपत्ता भएकै अवस्थामा ताराको परिवार घर छाड्न बाध्य हुन्छ ।

केही वर्षपछि तारा एक्लै घर फर्कंदा उनमा आएका संस्मरणहरूको सेरोफेरोमा उपन्यास लेखिएको छ । रामचन्द्रका अनुसार बेपत्ता परिवारको सदस्यका लागि गरिएको सङ्घर्ष र खोजी नै कथाको मूल विषय रहेको छ ।

“द्वन्द्वकालमा भएका हजारौं घटनाहरूको एक प्रतिनिधि उदाहरण हो जस्टिस,” रामचन्द्र भन्दछन् । जम्मा १२० पृष्‍ठको यो ग्राफिक नोभेलमा ३ भाग रहेका छन् भने यो क्याम्पेन पहिलो भागमा केन्द्रित हुनेछ ।

ग्राफिक नोभेलका लेखक तथा क्याम्पेनका प्रोजेक्ट म्यानेजरसमेत रहेका रामचन्द्रको भनाइअनुसार ‘डाइभर्स स्टोरीटेलिङ्ग’का लागि प्रख्यात प्लेटफार्म किकस्टार्टरमार्फत् ठूला प्रकाशकका आँखामा नपरेका लाखौँ लेखकहरूले आफ्ना सफल क्राउडफन्डिङ्ग क्याम्पेन पूरा गरिसकेका छन् ।

“पुस्तकलाई प्रकाशनको तहदेखि नै बजारीकरण गर्ने एउटा प्रयोगात्मक विधि पनि हो यो । यसलाई प्रि-अर्डर क्याम्पेन भने पनि हुन्छ,” रामचन्द्र भन्दछन्, “अमेरिकी गृह-युद्धका कथा आज पनि लेखिन्छन्, धेरै कोणबाट । र, ती ‘बेस्टसेलर’ पनि हुन्छन् । नेपाली द्वन्द्वकथाको यो प्रतिनिधि कथामा काम गर्नुको मुख्य उद्देश्य संसारभर रहेका आम पाठकसामु नेपाली साहित्यमा पनि पढ्नलायकका कथा र विषयवस्तु छन् भनी देखाउनु हो ।”

सर्वविदित् मानवीय चुनौतीहरूको अन्वेषण: पल लेभिट
ग्राफिक नोभेलका लागि संदिपन सन्त्राले चित्र कोरेका छन् भने यस उपन्यासमा व्लेक होना डेभलपमेन्टल एडिटर रहेका छन् । त्यस्तै, रेचेल स्लेमन कपी एडिटर र सहब खान लेटरर रहेका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका सह-प्राध्यापक तारा सिग्देलका अनुसार जस्टिस नेपाली द्वन्द्वकालको इतिहासलाई चियाउने एउटा झ्याल हो । “एउटा कुरूप द्वन्द्वको सुन्दर चित्रण हो जस्टिस,” उनी भन्छन् ।

त्यस्तै अमेरिकी ग्राफिक नोभेल लेखक, सम्पादक र डिसी कमिक्सका पूर्वअध्यक्ष पल लेभिटका अनुसार जस्टिस “फरक तथा भिन्न पृष्‍ठभूमिमा घटेका अति नै सर्वविदित् मानवीय चुनौतीहरूको एउटा अन्वेषण हो (कम्तीमा अमेरिकी पाठकहरूका लागि) ।”

ग्राफिक नोभेलका लागि तयार हुँदै गरेका केही ड्राफ्ट चित्रहरू हेर्न भिडियोसमेत तयार पारिएको छ । यो ग्राफिक उपन्यासमा इच्छुक जो कोहीले तल दिइएको किकस्टार्टरको लिङ्कमार्फत आफ्नो सहभागिता जनाउन सक्ने लेखकले बताएका छन् ।

https://www.kickstarter.com/projects/justicegraphicnovel/justice-i-a-civil-war-graphic-novel