साहित्यकार डा. महेश्वर शर्माको जागिरे जीवनका क्रममा भोगेका अनुभवहरू समेटेकाे ‘रन्थमोल: भाग दुई’ सार्वजनिक भएकाे छ । कृतिकाे विमोचन वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले गर्नुभएको हो ।

‘रन्थमोल: भाग दुई’ डा. शर्माको  ३० औँ कृति हो । कार्यक्रम वरिष्ठ साहित्यकार शारदा शर्मा र नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यको निवासमा भएको थियो ।

गण्डकी साहित्य प्रतिष्ठानद्वारा आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले रन्थमोल कृतिले प्रशासनिक बेथितिको सजीव चित्रण गरेको बताउनुभयो ।

उक्त अवसरमा आफ्नो विचार राख्दै नरहरि आचार्यले कृतिले समाजमा रहेको विसङ्गतिलाई सरल भाषामा प्रस्तुत गरेको र आगामी पुस्ताका लागि धेरै ज्ञानवर्धक रहेको बताउनुभयो । त्यसैगरी वरिष्ठ साहित्यकार शारदा शर्माले देशको प्रशासनिक संयन्त्रमा रहेको भ्रष्टाचार र बेथितिलाई कृतिले यथार्थ चित्रण गरेको बताउनुभयो ।

कृतिका लेखक डा. महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर कृति तयार परेको बताउनुभयो । जागिरको सिलसिलामा जतिखेर पनि जागिर खोसिने खतरा आफूमाथि परिरहेको बताउँदै उहाँले भन्नुभयो, “सिरहाको एउटा कार्यक्रममा राजा वीरेन्द्र सवारी हुने कार्यक्रम थियो । राजाको हेलिकप्टर एक ठाउँमा अवतरण गराउने तय गरिएकोमा राजालाई खबर भएनछ, अर्को ठाउँमा अवतरण भएछ । मलाई दरबारबाट फोन आयो । मैले राजालाई हेलिकप्टर अवतरण गराउने ठाउँ अर्को ठाउँमा हिजो नै तय गरेर पठाएको भनेपछि राजाले मिस्टेक भनेको हुँदा मेरो जागिर जोगियो । मेरा यस्तै अनुभवहरू नयाँ पुस्ताका प्रशासकहरूलाई मार्गनिर्देश हुने विश्वास लिएको छु ।”

प्राध्यापक डा. सुरेन्द्र केसीले महेश्वर शर्मासँगकाे मित्रता धेरै वर्षअघि इलामबाट सुरू भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महेश्वर शर्मा असल प्रशासकका साथै अब्बल साहित्यकार र हाम्रो अभिभावक पनि हुनुहुन्छ । उहाँले हामीले बोल्नेजस्तै सोझो भाषामा सबैले बुझ्ने गरी लेख्नु हुन्छ ।”

साहित्यकार डा. रमेश शुभेच्छुकले किताबभित्र रहेका भ्रष्टाचारका शृङ्खला, काण्डका शृङ्खला, राष्ट्रघातका चरण, राजसंस्था, राष्ट्रपतिको चालामाला, ओलीका रन्थमोल, अवसरवादका नमूनालगायत धेरै विषयलाई समेटिएकाे बताउनुभयो ।

त्यस्तै, साहित्यकार डा. रश्मि ढकालले देशमा ठुला ठुला राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा व्यावसायिकताको विकास हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारह तुलसी भट्टराई, वियोगी बुढाथोकीलगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सभापतित्व प्रेम लुइँटेलले गर्नुभएको थियो ।