
रामजी प्रसाद आचार्य
पोखरा / ‘अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७८’ बाट साहित्यकार प्राञ्जल पुरस्कृत हुनुभएको छ ।
अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कार यस वर्ष प्राञ्जललाई प्रदान गरिएको छ ।
माछापुछ्रे गाउँपालिका–८, ल्वाङमा शनिबार आयोजित अक्षरयात्राको १८३ औँ शृङ्खलाका अवसरमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले उहाँलाई पुरस्कृत गर्नुभएको हो ।
पुरस्कार अर्पण समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले साहित्यमा समयचेत र निरन्तरता सबैभन्दा मुख्य कुरा रहेको बताउँदै सर्जकले आफूलाई समयभन्दा अगाडि हिँडाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साहित्यिक अभियानहरूले प्रतिभालाई निखार्दै जाने र समाजलाई मार्गनिर्देश गर्दै जाने कुरा बताउँदै उहाँले स्थानीय सरकारले साहित्य, कला तथा संस्कृति संरक्षणमा विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ साहित्यकार प्रकट पंगेनी ‘शिव’ को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले प्राञ्जललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । प्रतिभा छनोट समितिमा साहित्यकार प्रकट पंगेनी ‘शिव’, दीपक समीप, कपिल शर्मा, सन्ध्याका अध्यक्ष मोहन भण्डारी, सचिव त्रुपक तथा नवनीत साहित्य सागरका अध्यक्ष डिल्लीराम भुषाल सदस्य रहनु भएको थियो ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नं. २, पाहाँदी स्थायी घर भएका प्राञ्जल विगत १३ वर्षदेखि पोखरामा रहेर साहित्य सिर्जना तथा रंगमञ्चमा समेत सक्रिय हुनुहुन्छ । नेपाली लेखक संघ, ज्ञानोदय पुस्तकालय, मुक्तक मञ्च, साहित्यिक चौतारी नेपाल लगायतका संस्थासँग पनि उहाँ आबद्ध हुनुहुन्छ । पेशाले प्रशिक्षक उहाँ साहित्य सिर्जना, रंगमञ्च तथा सामाजिक काममा सक्रिय हुनुहुन्छ । विभिन्न संयुक्त संग्रह तथा पत्रपत्रिकामा उहाँका दर्जनौँ रचना प्रकाशित छन् ।
गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार संयुक्त रूपमा आयोजना गरिने ‘अक्षरयात्रा’ कार्यक्रममा निरन्तर सक्रिय स्रष्टामध्येबाट याे पुरस्कारका लागि प्रतिभा छनोट गरी पुरस्कार प्रदान गर्ने गरिन्छ । युवा साहित्यकारद्वय गोविन्द गिरी र कृष्ण देवकोटाले युवा साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०६५ सालमा यो पुरस्कारको स्थापना गर्नुभएको थियो ।
अक्षरयात्रा प्रतिभा पुरस्कारको राशि नगद रु. ५,५५५।– रहेको छ ।अक्षरयात्रा प्रतिभा पुरस्कारबाट यसअघि प्रकाश ज्ञवाली, रूपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्याय र सञ्जीव पौडेल पुरस्कृत भइसक्नु भएको छ ।
कार्यक्रममा पुरस्कृत स्रष्टा प्राञ्जलका बारेमा स्रष्टा परिचय सञ्जीव पौडेलले दिनुभएको थियो । पुरस्कृत भएपछि बोल्दै स्रष्टा प्राञ्जलले पुरस्कारले साहित्य लेखनमा थप जिम्मेवारीपूर्वक लाग्न प्रेरणा दिएको बताउनुभयो । माटो र बाटोलाई निरन्तर सिर्जनाका कसीमा राखेर यथार्थ लेख्ने कार्यमा थप ऊर्जा प्राप्त भएको बताउँदै उहाँले अक्षरयात्राको मर्मअनुसार जीवन र जगतका सापेक्षमा कलम चलाइरहने प्रतिबद्धता जनाउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

