वातावरणविद् एवम् कथाकार विजय हितानको नयाँ कृति ‘ब्लु प्लानेट’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । इको कथाकार हितानको पर्यावरणीय कथाहरूको सँगालोका रूपमा रहेको कृति नयाँ वर्षको अवसर पारेर आइतबार २ जनवरी २०२२ का दिन सार्वजनिक गरिएको हो ।

जुम भर्चुअलका माध्यमबाट गरिएको विमोचन एवम् विमर्श कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टाराई, विषेश अतिथि वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीलगायतका समीक्षकहरूले संयुक्त रूपमा कृतिको विमोचन गरे । फिनिक्स बुक्स काठमाडौँले प्रकाशनमा ल्याएको यस कृतिका लेखक बेलायतनिवासी हितान पेशाले एन्भाएरोमेन्ट एजेन्सीमा वातावरण अधिकृत छन् । यस कथासङ्ग्रहभित्र पन्ध्र इको कथाहरू समाविष्ट छन् ।

एक दशकअघिदेखि नेपाली इको साहित्यका विषयहरूमा गम्भीर रुपले अध्ययन र लेखनसिर्जनामा संलग्न भएका हितानले पुस्तकबाट बिक्री भएको रकम दुर्लभ रेड पाण्डाको संरक्षण र पर्यावरण शहिद दीपक महतोको परिवारको सहयोगमा खर्च गर्ने घोषणा गरे । वातावरण विज्ञानमा बेलायती विश्वविध्यालयबाट मास्टर डिग्री गरेका हितान अहिले विश्व नेपाली साहित्य महासंघ, दक्षिण युकेका अध्यक्षसमेत हुन् । महासंघले प्रत्येक वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा अन्तर्राष्ट्रियस्तरको इको साहित्य गोष्ठी आयोजना गर्दै आएको छ ।

यस कथासङ्ग्रह विमोचन कार्यक्रममा कृतिभित्रका १५ कथाहरूउपर विभिन्न लेखक तथा समीक्षकहरूले आफ्ना पाठकीय राय राखेका थिए ।

समष्टिमा कृतिउपर बोल्दै प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले पृथ्वीको अवस्था, जवलवायु परिवर्तन र वातावरण संरक्षणका विषयहरूलाई हितानले आफ्ना कथाहरूमा उनेको टिप्पणी गरे । उनले सन् १९७२ पछि तीन चरणमा पर्यावरणका विषय र विधामा केन्द्रित भएर साहित्य लेखन र समालोचकीय बहसले स्थान लिएको बताए । उनले प्रकृतिकेन्द्रित, मानवकेन्द्रित हुँदै विश्वकै परिस्थितिका विषयहरूमा लेख्न सुरु भएको जनाए र विजयका बारेमा भने, ‘इको लेखनको विश्व तरङ्ग बुझेर प्रयोगमा व्यापकता ल्याउने प्रथम नेपाली विजय नै हुन् ।’ डा. भट्टराईले अगाडि थपे, ‘वातावरणलाई भौतिकदेखि साहित्यिक अभियानका रूपमा अघि बढाएर अरू लेखकसम्म लैजाने श्रेय पनि उनलाई नै जान्छ ।’

यसैक्रममा डा. सरिता शर्माले ‘पँधेरीले लुकाएको अँध्यारो’ कथाउपर आफ्नो पाठकीय टिप्पणी पेस गरिन् । यसै कथाको ‘मदेशकी छोरी म, पहाडकी बुहारी बन्न चाहन्छु ।‘ भन्ने वाक्यलाई उधृत गर्दै यो कथा पर्या–नारीवादी भएको बताइन् । जलवायु परिवर्तनका कारणले पँधेरा र इनारजस्ता पानीका मुल सुक्दै गरेका र यस्ता समस्याले पानी बोक्ने बुहारी र घरकी सासूबीच पैदा गरेको कलह कथाको मूल सार रहेको बताउँदै हितानले पर्यावरण संरक्षण अभियानलाई कलात्मक तरिकाले साहित्यमार्फत व्यक्त गर्न सकेको धारणा राखिन् ।

डा. गीता त्रिपाठीले ‘सहरले पन्छाएकी बुहारी’ कथाउपर टिप्पणी गरिन् । कथाले काठमाडौँ र बाग्मतीको प्रदूषित अवस्थाले मानिसको स्वास्थ्यमा पारेको नकारात्मक असरलाई उजागर गर्न खोजेको बताउँदै त्रिपाठीले कथामा पतिपत्नीबीचको मानवीय संवेदनालाई बडो साहित्यिक रससँग पस्केको तथ्य उजागर गरिन् । काठमाडौँ सहरमा भैरहेको वायु तथा नदी प्रदूषणजस्ता वातावरणीय समस्याका बारेमा मानिसलाई सचेत गराउन खोजिएको भन्दै कोठाभित्र बसेर पढ्नुभन्दा यस कथालाई माइकिङ गर्दै सडकमा हिँड्ने इच्छा जागेको डा. त्रिपाठीले भनिन् । पर्यावरणमैत्री भाषाले भरिएको यस कथा अन्य कथाभन्दा अलि लामो लागेको र कथाको शीर्षकमा बुहारीभन्दा पत्नी अथवा आमा राखेको भए सान्दर्भिक हुने सुझाव पनि दिइन् । कथा कृतिको विमोचनमा एकदुई जनालाई समीक्षा गराएर बोल्न लगाउनुभन्दा यसरी कृतिभित्रका प्रत्येक कथाउपर एकएक जनाबाट समीक्षा गराइएको कार्यक्रम आफूलाई पृथक् लागेको पनि बताइन् ।

डा. देवचन्द्र सुब्वाले ‘कार्वन फुटप्रिन्ट र उत्सर्जित आशङ्का’ कथामाथि आफ्नो समीक्षात्मक टिप्पणि पेस गरे । भौतिक प्रदूषण त भई नै रहेको छ पृथ्वीमा तथापि यो कथाले श्रीमान् र श्रीमतीबीचको मनमा पनि प्रदूषणको जालो बुनेको कुराउपर बडो कौतुहल जगाउने तरिकाले उल्लेख गरिएको बताए । उनले मानिसलगायत अन्य जीव तथा वनस्पतिका लागि कार्वन अति आवश्यक ग्यास हो तर त्यही कार्वन अधिकमात्रमा हुन गए हानि पु¥याउँछ भन्दै कथा डायस्पोरिक अनि प्रतिकारात्मक रहेको ठहर गरे । कथाको शीर्षक कार्वन फुटप्रिन्ट मात्रै भएको भए पनि उत्तिकै सान्दर्भिक हुनसक्ने सुझाव राखे ।

डा. देवेन सापकोटाले ‘गहिरो पहिरो’ कथामाथि टिप्पणी गरे । विकासका नाममा गरिने प्राकृतिक श्रोत र साधनको विनाशले पर्यावरणीय असन्तुलन निम्त्याउँछ भनेर यस कथाले प्रष्ट पार्न खोजेको उनको भनाइ थियो । कथाभित्र विकासका पूर्वाधार निर्माण गर्नुपूर्व पूर्णरुपमा वातावरण प्रभाव मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरिएको उनले बताए । देशको संरचना निर्माणमा राजनैतिक पाटोबाट वातावरण अमैत्री निर्णय लिइयो भने बाढीपहिरोजस्ता विपत्ति निम्तिन्छन् भन्ने सचेतना यस कथाले दिन खोजेको पनि डा. सापकोटाले उल्लेख गरे ।

त्यसैगरी महिम आचार्यले ‘बाग्मती ब्लुज’ कथाउपर टिप्पणी गरे । आचार्यले यस कथाले एक प्रेमिका पात्राको रुपमा उभ्याएर बाग्मतीको प्रदूषित पीडालाई पोखेको बताउँदै ब्रह्मपुत्र तथा गङ्गा नदीहरू पनि यसरी नै प्रदूषित भएको सम्झना गरे । काव्यिक रसमा पर्यावरणीयस समस्या औँलाइएको यो एक प्रेमकथा हो भन्ने उनको भनाइ थियो ।

विलोक शर्माले ‘गैँडालाई चार वर्ष’ कथाको समीक्षा गरे । ‘निकुञ्जको गैँडा मर्दा मेरो गोठको गाई मरेजस्तो लाग्छ ।’ भन्ने यस कथाभित्रको वाक्यलाई दोहो¥याउँदै शर्माले आन्दोलन र युद्धले मानवीय वेदना मात्रै दिँदैनन् प्राकृतिक विनाश पनि गर्छन् भने । आफू पनि गैँडासँग सानैदेखि नजिक भएको बताउँदै यो कथा गैँडा संरक्षणकर्मी तथा वातावरण अभियानकर्ता कमलजङ कुँवरप्रति समर्पित रहेको बताए ।

आफ्नो पाठकीय टिप्पणी राख्ने क्रममा युवा कवि प्रज्वल अधिकारीले ‘भुइँचालोले भत्काएको आणभिक भट्टी’ शीर्षकको कथा डायस्पोरिक चेतनामा लेखिएको बताए । मानिसका कुकार्यले आफूमाथि पारेको असह्य पीडालाई प्रकृतिले आफूलाई सुरक्षित राख्न भुइँचालोको रुप धारण गरेर आणविक भट्टीजस्ता मानवनिर्मित संरचना ध्वस्त पारेको यस कथा पढेर आफूले बुझेको बताए । क्लाई–फाई अर्थात् climatic–fictional ढाँचामा लेखिएको यस कथाको साराङ्श जलवायु परिवर्तनले नेपालको हिउँ पग्लेर नदीनाला सुक्न जान्छन् । फलस्वरुप नदीमा पानी नहुँदा जलविद्युत् उत्पादन गर्न नसकिने तर यस २१ औँ शताब्दीको अन्त्यतिर हाम्रो देश भारत र चाइनासरी आर्थिक विकासमा छलाङ मार्ने र आणविक भट्टी निर्माण गरेर ऊर्जा उत्पादन गरिरेहेको हुने छ भन्ने संभावनालाई कथाकारले प्रस्ट्याउन खोजेको पनि अधिकारीले बताए ।

समीक्षक अमित थेवेले यस सङ्ग्रहको शीर्षक कथा ‘ब्लु प्लानेट’उपर आफ्नो टिप्पणी प्रस्तुत गरे । थेवेले यो कथाको परिवेश कोरोना महामारीको उद्गमस्थल चाइनाको वुहान सहर भएको बताउँदै बीबीसीका विश्वप्रसिद्ध पर्यावरण प्रस्तोता सर डेविन एटनबर्ग एक पात्र रहेको र कथामा तिनको कोरोनाले मृत्यु भएको प्रस्ट्याए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको महाधिवेशन प्रस्तावमा केही हदसम्म पर्यावरणीय विषयलाई उठान गरेको सम्झना गर्दै यस कथाले कोरोना महामारीले मानवीय गतिविधिमा केही हदसम्म रोकावट आएको र फलस्वरुप पृथ्वीको आयु लम्बिन सक्ने बोलेको जानकारी दिए ।

गीतकार तथा कवि भावेश भुमरीले ‘नव वर्षले जन्माएका वृक्षहरू’ कथामा आफ्नो समीक्षात्मक टिप्पणी राखे । राजनैतिक पार्टीका आर्थिक विकास, सामाजिक न्यायजस्ता पर्यावरण संरक्षणका एजेण्डा पनि हुनुपर्ने कथाको सार रहेको उनले प्रष्ट पारे । कथामा कथाकारले आफ्ना अनुभवहरूलाई अन्तर्वार्ताको सन्दर्भ जोडी संवाददाता पात्रको प्रश्नहरूमा मुख्य पात्रले उत्तर दिँदै बेलायतमा पर्यावरण संरक्षणमा गरिने आधुनिक तथा वैज्ञानिक तौरतरिकाको ज्ञान बडो सूक्ष्म रुपमा पस्केको उनले औँल्याए ।

कवियत्री तथ शिक्षिका नीलिमा आचार्यले ‘बघिनीको शोकशभा’ कथाउपर टिप्पणी गर्ने क्रममा भनिन्, ‘पर्यावरण विषयमा पनि यसरी सरल तरिकाले कथा लेख्न सकिन्छ भनेर मैले चिताएकी थिइनँ । चितवन निकुञ्जमा पालिएको बाघ अचानक मान्छे र वन्यजन्तुबीचको द्वन्द्व र बासस्थानको सङ्कुचनका कारणले मारिएको र कथा पढदै जाँदा ती गौरी नामक बघिनीको शोकसभामा आफू स्वयम् पुगेजस्तै अनुभव भएको छ ।’ मानिसले मानिसका छोराछोरी पाल्छन् तर यस कथामा बाघलाई एक घनश्याम नामक पात्रले धर्म छोरी बनाएर पालेको कुरा कथामा नौलो प्रयोग गरिएको उनको ठम्याइ थियो । हितानको यस कथासङ्ग्रहमा अब आफ्ना विद्यार्थीका लागि पर्यावरणीय चेतका सामग्री भेटेको आचार्यको भनाइ थियो । कथाको शीर्षक बघिनीको शोकसभाभन्दा गौरीको शोकसभा राखेको भए अझै अमूर्त हुन्थ्यो भन्ने सल्लाह पनि कथाकारलाई दिइन् ।

अर्का असमेली कवि तथा शिक्षक क्षेत्रमान सुब्बाले ‘बाढीको घटुक्क बाडुली’ शीर्षकको कथामाथि प्रकाश पारे । यसमा एक बाढीपीडित बृद्धको कथा कहिएको बताउँदै आफू स्वयम् वास्तवमै एक बाढीपीडित बनी आन्तरिक शरणार्थी हुनुपरेको सुब्बाले सम्झना गरे । यसर्थ यस कथाको शीर्षक पर्यावरणीय शरणार्थी पनि राख्न सकिन्थ्यो भन्दै उनले आफ्नो टिप्पणीको बिट मारे ।

विषेश अतिथि ज्ञानबहादुर क्षेत्रीले कार्यक्रमको अन्त्यमा सबै वक्ताहरूले बोलेका विषयउपर समीक्षात्मक टिप्पणी गर्दै ब्लु प्लानेट कथासङ्ग्रह एक मास्टर पिस भएको धारणा व्यक्त गरे । अनुराधा शर्मा पुजारीको ‘यहाँ एउटा वन थियो’ नामक पुस्तकले भारतको साहित्य अकादमी पुरस्कार पाएको स्मरण गर्दै ‘ब्लु प्लानेट’ पनि पुरस्कृत हुनसक्ने एक उत्कृष्ट कृति रहेको दावी गरे । ‘वर्षगाँठमा रेड पाण्डा’ सर्वोरउत्कृष्ट कथा रहेको आफूलाई लागेको बताउँदै हितानका कथाले भविष्यमा जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, मानवीय प्रदूषण, वन्यजन्तु चोरीशिकारी, विकासनिर्माण इत्यादिले अबको २०– ३० वर्षमा पृथ्वीमा कस्तो असर पर्छ र अहिले यसका लक्षण केकस्ता छन् भनी आम पाठकलाई सचेतना दिलाउने कुरा बताए ।

कार्यक्रममा नेपाल, भारत बेलायत तथा विश्वका अन्य मुलुकबाट विजय हितानका ५२ जना शुभचिन्तक, इको तथा नेपाली साहित्य अनुरागी, साहित्यका विद्यार्थी, विद्यालय तथा विश्वविद्यालयका प्राध्यापक साथै विभिन्न साहित्यिक संघसङ्गठनका पदाधिकारीहरूको उपस्थिति थियो ।