केशव सिलवालको कवितासंग्रह ‘चिबेचरा’ एका कार्यक्रमका बिच सार्वजनिक भएकाे छ । यसअघि ‘वर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ कवितासंग्रह प्रकाशन ल्याइसकेका सिलवालको यो संग्रह सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।

कार्यक्रममा कवि विमल निभाले जनवादी धारका सरल कविता सृजना गर्नु कठिन काम भएको बताएका छन् । कवि निभाले सरल शैलीका कविताबाट नै जनताका मुद्दा बलियोसँग स्थापित गर्न सकिने बताएका हुन् । निभाले भने, ‘गहन शब्द र शिल्पको जालोबाट कवितालाई मुक्त गर्नुपर्छ । सबैले बुझ्ने भाषा र बिम्बकै प्रयोग गरेर शक्तिशाली कविता लेख्न सकिन्छ । आजको कविताको प्रमुख विशेषता यही हो ।’

जनसंस्कृतिकर्मी माइला लामाले केशव सिलवालका कविताले जनताको संघर्षको प्रतिनिधित्व गर्ने बताए । ‘हतकडी लगाए पनि, मुखमा पट्टी बाँधे पनि जनताका गीत बन्द हुँदैनन् । जनताका कुरा कविता र गीतमार्फत सधैं बाँचिरहन्छ,’ लामाले भने ।

कवि धनकुमारी सुनारले भने सम्पूर्ण उत्पीडित, शोषित वर्गको पक्षमा कविता लेख्ने कविको रुपमा सिलवाललाई चित्रण गरिन् । उनले भनिन्, ‘आम सर्जकको जुन कुरामा दृष्टि पर्दैन सिलवाल त्यहीं कविताको बिम्ब भेट्छन् । प्रत्येक कवितामा जनताको आवाज बोल्छन् ।’

अर्का वक्ता उज्ज्वल प्रसाईंले राष्ट्र, धर्म, जात र मानवीय विभाजनहरूभन्दा कविता उच्च स्थानमा रहने बताए  । उनले अगाडि भने, ‘अबको कविताले राष्ट्रप्रेम र राष्ट्रिय मुद्दा मात्र बोक्नु असान्दर्भिक हुन्छ । कविताले मानव जाति र पृथ्वीको साझा मुद्दालाई सम्बोधन गर्न सक्नुपर्छ ।’