अजित उत्सवको कवितासङ्ग्रह “आकाशगङ्गाको किनार”ले देशका अन्य शहरमा जस्तै काठमाडौंमा पनि पाठक, समीक्षक र लेखकहरूको न्यानो माया प्राप्त गरेको छ । काठमाडौंको सामाखुशीस्थित लिंकन कलेजमा आयोजित परिचर्चा कार्यक्रममा उत्सवको कविताकृतिमथि समीक्षा एवम् विविध धारणा व्यक्त गरियो ।

हरित शान्ति समाज नेपाल, काठमाडौंको आयोजनामा भएको सो कार्यक्रमको मुख्य अतिथि डा. रेणुका सोलुले कविता संग्रहको खुलेर तारिफ गर्नुभयो ।

यस्तै विशिष्ठ अतिथि राजेन्द्र चापागाईंले पनि आफ्नो समीक्षात्मक टिप्पणीमा संग्रहका कविताका विविधता र यसका भाव, विचार अनि कलापक्षका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो ।

युवा समीक्षक एवम् समालोचक महेश कार्की क्षितिजले पनि कविता संग्रहको समग्र टिप्पणी गर्दै यस कविता संग्रहले बजारमा राम्रै स्थान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

युवा सञ्चारकर्मी एवम् समाजसेवी गोविन्द गिरीले कवि अजित क्षेत्रीको व्यक्तित्वको चर्चा गर्दै कविता संग्रहको सफलताको कामना गर्नु भएको थियो भने वरिष्ठ समाजसेवी बालकृष्ण गिरीले समालोचक र पाठकवर्गले लेखकलाई हौसला दिन सके मात्र राम्रा लेखकले देशलाई राम्रा सिर्जना दिन सक्ने धारणा व्यक्त गर्नुभएको थियो ।

युवा कवि प्रज्ज्वल अधिकारी र रेजिना आपगाईंले यस कविता संग्रहबाट एक एक कविता वाचन गर्नुभएको थियो । अधिकारीले ‘अदालतमा जुत्ताको बयान’ र आपगाईंले ‘देशको अनुहार’ वाचन गर्नुभएको थियो । उहाँहरूले कृतिमाथि छोटो टिप्पणी गर्दै उत्कृष्ट कृति बजारमा आएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता हरित शान्ति समाजका उपाध्यक्ष सन्तु सफल गिरीले गर्नुभएको थियो । स्वाग मन्तव्य संस्थाका सहसचिव पदम क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमको सफल सन्चालन युवा गजलकार अमन एकलले गर्नुभएको थियो ।