इनरुवा / मुक्तककार राधा सुवेदीको ‘युग फेरिन देऊ’ मुक्तकसङ्ग्रहको लोकार्पण भएको छ । सिर्जनामा इनरुवाले आयोजना गरेको कार्यक्रममा सुवेदीको मुक्तकसङ्ग्रहको लोकार्पण भएको हो ।

इनरुवामा आयोजित कार्यक्रममा प्रदेश–१ का सामाजिक विकासमन्त्री जयराम यादव, प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार जीवनाथ नेपाली पोखरेल ‘पन्छी’, छविनाथ रिजाल, आयोजक संस्थाका अध्यक्ष लीलानाथ सिलवाललगायतले संयुक्त रुपमा मुक्तकसङ्ग्रहको लोकार्पण गरेका थिए । मुक्तकसङ्ग्रहमाथि झोराहाट नाट्य समूहका अध्यक्षसमेत रहेका साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले समीक्षा गरे । समीक्षा गर्दै साहित्यकार गुरागाईंले मुक्तकसङ्ग्रहमा देश र समाज बोलेको बताए । सुवेदीको ‘युग फेरिन देऊ’ मुक्तकसङ्ग्रहमा भूत, वर्तमान र भविष्यसँगै आएको उनको भनाइ थियो । मुक्तक साहित्यमा ‘युग फेरिन देऊ’ मुक्तकसङ्ग्रहले बलियो उपस्थिति जनाएको गुरागाईंले दाबी गरे ।

साहित्यकार रमेन्द्र कोइरालाले कृतिकारको परिचय प्रस्तुत गरेको कार्यक्रमको सञ्चालनसहित सिर्जनामा इनरुवाका बारेमा कवि सागर तिम्सिनाले प्रकाश पारेका थिए । सो अवसरमा कवि जमुना पौडेल, रोहिणी रसिक, रीता पाठक, रोमु अधिकारी, तारा पराजुली ढकाल, सविना श्रेष्ठलगायतले मुक्तकसङ्ग्रहबाट मुक्तक वाचन गरे । सङ्ग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका एक सयवटा मुक्तक समावेश छन् ।