आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास ‘अपरिचित’ आज एपेक्स लाइफ स्कुल कपनमा विमोचित भएको छ ।

साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय व्यवहार देखाउने चेष्टा गरेको बताए ।

त्यसैगरी अर्का समीक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेका धारणा राखे ।

प्रमुख अतिथिका रुपमा बोल्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले भने, ‘लेखाइ सुन्दर छ । सामाजिक कथामा आधारित छ । तर परिमार्जन गर्न सकिने ठाउँ छ ।’

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, वरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतले मन्तव्य राखेका थिए भने लेखिका सीमा पुरीले रचना गर्भ सुनाएकी थिइन् । यसअघि उनको पहिलो उपन्यास ‘परी’ले पनि पाठकको माया पाएको थियो ।

बिएन पुस्तक संसार प्रालिद्वारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भीमादेवी पाण्डेयले गरिकी थिइन् भने सञ्चालन शशी शर्मा मजगैंयाले गरेका थिए ।

पुस्तकको बजार मूल्य ३८५ रहेको छ ।