वास्तुकलाका प्राध्यापक डा. मोहनमूर्ति पन्तद्धारा लिखित तथा वास्तुकार (आर्किटेक्ट) मिलन बगालेद्धारा अनुदित ‘महाभूकम्पपछिको पुनर्निर्माण : जापानको अनुभव’ पुस्तक हालै प्रकाशित भएको छ ।

ख्वपः इन्जिनियरिङ्ग कलेज, भक्तपुरको वास्तुकला एवम् नगर डिजाइन तथा सम्पदा संरक्षण विभागमा १२ वर्ष पढाएका पन्तले क्योटो विश्वविद्यालय, जापानको ग्रेजुयट स्कूल अफ ह्युमन एन्ड इन्भारइनमेन्टल स्टडिज विभागमा सन् २०१९—२०२० ताका आमन्त्रित प्राध्यापकको रुपमा काम गरेका थिए । उक्त समयमा उनले सन् १९९५ मा जापानमा गएको हानसिन—आवाजी महाभूकम्पपछिको पुनर्निर्माणबारे विस्तृत अध्ययन गरेका थिए । सोही क्रममा अंग्रेजीमा तयार भएको अनुसन्धानात्मक पुस्तक (Post Disaster Reconstruction: Issues, Models and Lessons of 1995 Great Hansin-Aawaji Earthquake and Beyond) लाई बगालेले नेपालीमा अनुवाद गरेका हुन् । उक्त पुस्तक लेखक पन्त स्वयम्ले प्रकाशन गरी बजारमा ल्याएका हुन् ।

यो पुस्तकमा जापानको कोबे र कुमामोतो सहरको पुनर्निर्माणसम्बन्धी अध्ययन समेटिएको छ । त्यसमध्ये कोबे सहरको पश्चिमी क्षेत्रमा पर्ने सिन— नागाता वार्डको उत्तर पूर्वी इलाकाको आवास पुनर्निर्माण सम्बन्धमा विस्तृत अध्ययन गरि पुनर्निर्माणका विविध पाटाहरुको अन्तरसम्बन्ध र सरोकारवालाको भूमिकामाथि प्रकाश पारिएको छ । कोबे नजिकैको आवाजी टापुका ग्रामीण बजारबस्ती पनि स्थलगत अध्ययनमा समेटिएका छन् । सहरी र ग्रामीण बजारबस्ती इलाकामा पुनर्निर्माण गर्दा ठाउँको विशेषता अनुरुप अबलम्बन गरिएका पुनर्निर्माण योजनाको योजना र स्थानीयवासीको मतबारे यसमा विस्तृत रुपमा अध्ययन गरिएको पन्तले जानकारी दिए ।

पुनर्निर्माणसँग सम्बन्धित यी स्थलगत अध्ययनले विशेषतः पुनर्निर्माण योजनाको आकार, शहर—बस्तीको इतिहास र शहरी जीवनशैलीबारे प्रकाश पारेको प्राध्यापक डा. पन्तले जनाएका छन् । विपद्पछिको पुनर्निर्माणका विविध पक्षको विवेचनामा नक्सा—चित्र र तथ्यांकको प्रयोग गर्दै जापानकै अनुसन्धान र समालोचनाका प्रसंग जोडेर गरिएको यो अध्ययन विपद्पछिको शहरवस्तीको योजना निर्माण र कार्यान्वयनमा एक सान्दर्भिक पाठ हुन सक्ने र सो पाठ नेपालका लागि पनि उपयोगी हुने पन्तको मत छ ।

प्राध्यापक पन्तले जापानको क्योटो विश्वविद्यालयबाट परम्परागत शहरबस्ती संस्कृतिमा विद्यावारिधि गरेका छन् । उनी वास्तुकला, नागरी डिजाइन तथा सम्पदा संरक्षणका क्षेत्रमा तीन दशकदेखि अध्ययन, अध्यापन, अभ्यास र अनुसन्धानरत छन् । पछिल्लो समय उनी नेपालका ग्रामीण बस्तीहरूको वास्तुकलागत सर्वेक्षणको काममा संलग्न छन् ।

यसअघि पन्तका ‘Stupa & Swastika-Historical Urban Planning Priniciples in Nepal’s Kathmandu Valley’ / ‘Thimi : Community & Structure of a Town’  दुई पुस्तक प्रकाशित भैसकेका छन् ।