अन्तर्राष्ट्रिय लेखकहरुका छोटा कथाहरुको कथा सङ्ग्रह ‘अ ग्लिम्स इन्टु माई कन्ट्री’ हालै लन्डनमा सार्वजनिक गरियो । यस संग्रहमा जिम्बाबे, दक्षिण अफ्रिका, फ्रान्स, बेलायत, बाङ्लादेश, भारत र नेपालका कथाहरु संग्रहित छन् ।
नेपालका महेश पौड्याल, सञ्जीव चौधरी, ममता मिश्र, जयन्त शर्मा, निलिमा श्रेष्ठ, संगीता स्वेच्छा र दीपक रानाका कथा यस संग्रहमा अटाएका छन् । अन्य कथाकारहरुमा भारतबाट मिताली चक्रवर्ती, बाङ्लादेशबाट फराह गुजनवी, दक्षिण अफ्रिकाबाट मिकेइला ग्रोभ, जिम्बाबेबाट नोर्मा हल, बेलायतबाट डेरेक म्याकमिलन र सारा कपाडिया तथा फ्रान्सबाट आन्द्रे रोबी रहेका छन् ।
पुस्तकलाई बुक हिल इन्टरनेसनल बेलायतले प्रकाशन गरेको हो । यो बुक हिल पब्लिकेसन नेपालकै भगिनी संस्था हो ।
बुक हिल इन्टरनेनसलकी संस्थापक तथा सम्पादक संगीता स्वेच्छाले यो पुस्तक भिडभन्दा अलग स्वाद दिने कथाहरुको संग्रह रहेको बताउनुभयो । यसले नेपाली साहित्यलाई वाह्य विश्वमा चिनाउन सहयोगी हुने विश्वास स्वेच्छाले लिनुभएको छ ।
पुस्तकको इबुक र हार्डकभर संस्करण वेबसाइटमार्फत पाठकमाझ पुग्ने बुक हिलका प्रमुख कार्यकारी भूपेन्द्र खड्काले बताउनुभयो ।
पुस्तकले आफ्नो कोठाबाट एक पाइला नसारी संसारका अन्य देशका र त्यहाँको संस्कृतिका बेग्लै स्वाद पस्कने पुस्तकका सम्पादक आन्दे रबीले बताउनुभयो ।
पुस्तकका बारेमा टिप्पणी गर्दै अनुवादक तथा निबन्धकार बलराम अधिकारी नेपालसहित विश्वका अन्य सात मुलुकका चौध लेखकले सांस्कृतिक रुपमा व्यापक विविधताका सिर्जनात्मक गमक एउटै पुस्तकमा पस्किएको बताउनु भएको छ ।
पुस्तकलाई अमेजनमार्फत अमेरिका, बेलायत, इटाली, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, स्पेन, डेनमार्क, जापानमा मगाउन सकिने बताइएको छ । पुस्तकको मूल्य १० पाउन्ड रहेको छ । पुस्तकलाई बेलायतबासीहरुले यस ठेगानाबाट मगाउन सकिने बुक हिल इन्टरनेसनलले जनाएको छ ।
Amazon UK: https://www.amazon.co.uk/Glimpse-Into-Country-Anthology-International/dp/1915159016/