यस वर्षको ‘बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ डिगबोइ, असम निवासी मूर्धन्य साहित्यकार युद्धवीर राणालाई अर्पण गरिने भएको छ । बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक प्राडा. मोहन पी. दाहालको अध्यक्षतामा बाग्राकोटमा बसेको समितिको बैठकमा युद्धवीर राणाको नामलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
नेपाली साहित्य एवं कलाका क्षेत्रमा दीर्घकालीन र अतुलनीय योगदान पुऱ्याएबापत उहाँलाई ‘११औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कार’द्वारा अलङ्कृत गरिनेभएको हो । आगामी १६ जनवरी, २०२२ मा बाग्राकोट, डुवर्समा एक समारोह आयोजन गरी साहित्यकार राणालाई पुरस्कृत गरिनेछ । पुरस्कारमा नगद राशि, अङ्ग वस्त्र र सम्मान-पत्र सम्मिलित रहनेछ ।
११ दिसम्बर, १९३९ मा असमको डिगबोइमा जन्मिनुभएका युद्धवीर राणा असाधारण र बहुप्रतिभाका धनी व्यक्तित्व हुनुहुन्छ । आफ्नो प्रारम्भिक शिक्षा आर्जनदेखि नै उहाँले अनेकौँ प्रयत्नहरूद्वारा आफूलाई बहुमुखी कार्यक्षमतातिर अग्रसरित गर्दै लानुभयो। नेपाली साहित्य, कला, लोकसंस्कृति र जातीय मौलिक चिन्हारीका क्षेत्रमा उहाँले विशिष्ट योगदान दिनुभएको छ। काष्ठकलामा उहाँको असाधारण क्षमताले असम राज्यमा विशेष प्रतिष्ठा कमाएको छ ।
मूर्तिकला, चित्रकला, गायन, अभिनय र खेलकुदजस्ता विविध क्षेत्रमा पनि उहाँको क्षमता र प्रतिभा स्थापित छ। सन् २०१८ मा मात्र उहाँले हरिभक्त कटुवालका पाँचवटा गीत, भविलाल लामिछानेका चारवटा अनि आफ्ना चारवटा गीतहरू गाएर एउटा गीति एल्बम तयार गर्नुभएको छ । उहाँ हरिभक्त कटुवालका समकालीन हुनुहुन्छ । ‘चिहान नपाएका तक्माहरू’ (सन् १९८२) उहाँको एउटा प्रसिद्ध लामो कवितासङ्ग्रह हो, जसमा जातीय चेत प्रखर रूपमा मुखर भएको छ । लोकसाहित्य तथा संस्कृतिको संरक्षण एवं प्रवर्धनमा उहाँले महत्त्वपूर्ण काम गर्नुभएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।