
डीबी किराती
साहित्यकार डीबी किराती (दलबहादुर राई) को निधन भएको छ । किरातीको ६६ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ निवासी किरातीको ब्रेन स्ट्रोक भएपछि राजधानीको न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।
प्रगतिशील साहित्यमा रुचि राख्ने किरातीको ‘खोजी’ उपन्यास, ‘चौतारा’ र ‘के हो नयाँ नेपाल’ निबन्धसंग्रह, ‘पागलको डायरी’ भाग–१ र २ तथा ‘पोकापोन्तरा’ कवितासंग्रह, ‘के तिमी ज्यूँदै छौ’ लघुकाव्य, ‘मुल्केम’, ‘चुनौती’, ‘भत्किएका घरहरू’ नाटकसंग्रहलगायत दर्जन कृति प्रकाशित छन् ।
ओखलढुङ्गाको रुम्जाटार चार्खुमा २०१२ सालमा जन्मिएका किराती सोलुखुम्बुमा कम्युनिस्ट पार्टीका संस्थापक राजनीतिज्ञका रूपमा परिचित थिए । किरातीका श्रीमती र दुई छोरी छन् ।
किरातीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारका सदस्यले जनाएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

