सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् कवि अजित उत्सवको कृति “आकाशगङ्गाको किनार”को कृति विमर्श र एकल कविता वाचन शनिबार चितवनमा सम्पन्न भएको छ ।

चितवन साहित्य परिषदको सभाहलमा सम्पन्न सो कृति विमर्श कार्यक्रमको आयोजना ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले गरेको थियो ।

वरिष्ठ साहित्यकार एल. बि. क्षेत्रीले कृति भित्रका शब्द, भाव र धारणा समेतलाई गहन समीक्षा गर्नुभएको थियो । कृतिकारको कविता वाचन र विमर्शकार वरिष्ठ साहित्यकार क्षेत्रीले गर्नुभएको विश्लेषणात्मक विमर्श र वाचनले ऊर्जा प्रदान गरेको थियो । वरिष्ठ साहित्यकार क्षेत्रीले कवि अजित उत्सवको चर्चित कविता “अदालतमा जुत्ताको बयान” वाचन गरिरहँदा हल तालीले गुन्जायमान भएको थियो ।

“आकाशगङ्गाको किनार” भित्रका कविता साँच्चिकै कविता जस्ता भएको र कविले यसरी नै शब्दहरुसँग खेल्न सके मात्र सुन्दर कविताहरू जन्मिरहने विश्वास क्षेत्रीले व्यक्त गर्नुभयो ।

सो कार्यक्रमको सभाध्यक्षता प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्कीले गर्नुभएको थियो । लेखिका सिम्रन क्षेत्रीले स्वागत गर्नुभएको सभालाई अविरल यात्रीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिष्ठानको सल्लाहकार समेत रहनुभएका कृष्ण खनालले कार्यक्रममा खुसी व्यक्त गर्नुभयो । सुनिएका कविताहरूमाथि कृष्ण कोइरालाले आफ्ना धारणा राख्नुभएको थियो ।