सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैका लागि प्रेरणाको श्रोत रहेको बताए । उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने बताए । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको बताए।
‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ कालजयी हुनुहुन्छ । उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ । यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसाथ गर्नेछन् ।’ मन्त्री कार्कीले भने ।’
कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा. किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन् । उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भने पनि उनका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताइन् ।
डा. रेग्मीले गाउँछ गीत नेपाली भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन्। उक्त गीतमा नेपाल र नेपालीहरुको बारेमा सबै यथार्थ चित्रण गरिएकोले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनले बताइन्।
पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने उनको भनाइ छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।