शताब्दी पुरुष सत्यमोहन जोशी

मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले शताब्दी पुरुष संस्कृत विद् सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्नेभएको छ । काठमाडौँमा दीक्षान्त समारोहको आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको हो ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला, साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि मानार्थ महाविद्यावारिधिको उपाधिबाट सम्मान गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिक पत्र हस्तान्तरण गरिसकेको जानकारी दिए । उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्‍याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ ।

बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।