नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्राकृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’को परिचर्चा कार्यक्रम राजधानीमा एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्राडा• रमेश भट्टराईले नियात्रासङ्ग्रहलाई नयाँ शैलीमा खिचिएको अनुभवका जीवन्त तस्बिरहरूको सँगालोकाे विशेषण दिनुभयो । उहाँले भन्नुभयो, “तथ्यलाई वर्तमानसँग जोड्न सके आगामी कृति थप परिष्कृत बन्नेछ ।”
त्यसरी नै प्रगतिवादी कवि,समालोचक तथा आख्यानकार केशव पुडासैनी ‘विमल’ले नियात्राकार स्वयम् प्राकृतिक र सामाजिक पाटोको द्रष्टा र भोक्ता हुने हुनाले उसले इमानदार र जिम्मेवारीपूर्वक आफूलाई उभ्याउनुपर्ने जिकिर गर्नुभयो। नियात्राकार आफैँ श्रमजीवी वर्गको व्यक्ति भएकाले भुइँमान्छेको चस्माद्वारा हेर्दा पनि नियात्रा उदाहरणीय भएको उहाँको तर्क थियो ।
स्रष्टाले पाठकलाई आफूसँगसँगै यात्रा गराउन सफल भएकाले नियात्रा सबल भएको अर्की प्रगतिशील कवि तथा समालोचक डा• बिन्दु शर्माले बताउनुभयो । सीमान्तकृत वर्गको समस्या उठानले कृतिको कद बढेको राय राख्दै काव्यिक र सान्दर्भिक शब्द चयनले कृतिको ओज बढेको उहाँले बताउनुभयो ।
त्यस्तै, नियात्राकार तथा समालोचक डा• रजनी ढकालले नियात्राकृति भूगोल र भावको यात्राको दोभान भएको प्रस्ट्याउनु भयो। उहाँले कैयन् मक्किएका सामाजिक नीति, नियमविरूद्ध तीखो व्यङ्ग्य प्रहार गरेर समाजलाई झकझक्याउन कृति सफल भएको बताउनुभयाे भने भने कवि तथा नियात्राकार भीष्म उप्रेतीले नेपाली नेपालीबीच भएको सम्वाद नेपाली भाषामै पस्कनु उपयुक्त भएको दाबी गर्नुभयो ।
प्रकृतिलाई मानवीकरण गरिएको यो कृतिले नेपाल चिनाउन सक्ने ल्याकत राख्ने कवि, गीतकार तथा समालोचक डा• गीता त्रिपाठीको मत थियो । पर्यटन व्यवसायी बोधराज भण्डारीले पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै स्थान परिचय , आञ्चलिक कला, संस्कृति र धर्मबारे पुस्तकमा बोधगम्य ढङ्गबाट सामग्री पस्कनु प्रशंसनीय काम भएको बताउनुभयो ।
अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा पर्यटनप्रति स्वयम् सरकार उदासीन भएका बेला साहित्यकारहरू यसप्रति सम्वेदनशील भएकामा सन्तोष व्यक्त गर्दै अर्थतन्त्र, साहित्य र पर्यटनलाई जोड्नसके देशले आर्थिक विकासमा फड्को मार्ने कार्यक्रम आयोजक तथा प्रायोजक राजेन्द्र सापकोटाको जिकिर थियो । नियात्राकार पवन आलोकले नियात्रा नवीन सोच र दृष्टिकोणका साथ आएकामा नियात्राकार डङ्गोललाई बधाई दिनुभयो ।
पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीले नियात्राकृति अध्ययन गर्न पैँतालीस लाखभन्दा बढी पर्यटन क्षेत्रसँग प्रत्यक्ष-परोक्ष सम्बद्ध सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । नियात्राकार राजेन्द्रमान डङ्गोलले कार्यक्रम आफ्ना लागि विशेष पुरस्कार प्राप्त भएझैँ लागेको भन्दै आगामी कृति प्रकाशनपूर्व नै यस्ता खाले अन्तरक्रिया र मन्थनको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कवि तथा समीक्षक माधव घिमिरे ‘अटल’ले कृतिकारको साङ्गोपाङ्ग परिचय दिनुभयो । प्रकाशन संस्था फिनिक्सका गणेश सुवेदीले उपल्लो थलो र हरियो साइकलपछि उत्कृष्ट लागेकैले ‘पैतालामा हिउँ, आँखामा हिमाल’ कृति प्रकाशन गर्न आफू तत्पर भएको अवगत गराउनु भयो ।
कार्यक्रमको सहजीकरण तथा समापन कवि तथा रेडियोकर्मी लक्ष्मी रूम्बाले गर्नुभएको थियो।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)