‘ब्लु प्लानेट’को बिक्रिवितरणबाट उठेको पैसा रेड (रातो) पान्डा संरक्षणमा खर्चिने घोषणा गरिएको छ । यो घोषणा ब्लु प्लानेट कथासङ्ग्रहका लेखक विजय हितानले गर्नुभएकाे हाे । रातो पान्डा नेटवर्क नेपालका प्रोग्राम कोअर्डिनेटर सोनाम टासी लामासँग हालसालै हितानले पुस्तकमार्फत् सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन् ।
ब्लु प्लानेट पर्यावरणीय कथासङ्ग्रह हो । यसमा १५ वटा इको अर्थात वातावरणीय विषय समेटिएका कथाहरु छन् । यसभित्र ‘वार्षिकोत्सवमा रेड पान्डा’ शीर्षककाे कथा पनि रहेकाे छ । यो कथा रेड पान्डा संरक्षणको आवश्यकता र महत्त्वमा केन्द्रित छ । जन्मदिन र विवाहका वर्षगाँठमा खर्चिलो पार्टी खाएर मनाउनुभन्दा रेड पान्डा जस्ता वन्यजन्तु संरक्षणमा लागेका संस्थालाई सहयोग गर्नु राम्रो भन्ने सन्देश कथाले दिन खोजेको छ ।
रेड पान्डा अर्थात् हाब्रे नेपालमा पाइने स्तनधारी प्राणी हो । यो विशेषत पाँचथर, इलाम, ताप्लेजुङ, लाङटाङ क्षेत्रमा पाइन्छ । बासस्थानको नाश र चोरीशिकारीको कारणले यो जन्तु लोपान्मुख अवस्थामा छ ।
हितानले यसअघि बाघ संरक्षणका लागि पनि आर्थिक सहयोग पुर्याउँदै आएका छन् । ब्लु प्लानेटको रोयल्टीको केही अंशले स्वर्गीय दिलिप महतोको परिवारलाई पनि सहयोग गर्ने इच्छा रहेकाे हितानले बताएका छन् । दिलिप मिथिला नगरपालिका, धनुषा निवासी पर्यावरण संरक्षण अभियन्ता थिए । वि.स. २०७६ मा गिट्टी कुट्ने क्रसर उद्योगमा ट्रकले कुल्चेर उनको हत्या गरिएको थियो ।
हितानको यस कथासङ्ग्रहभित्र दिलिप महतोको पर्यावरण संरक्षण अभियानमा आधारित ‘पर्यावरण सहिद’ शीर्षकको एउटा कथासमेत रहेकाे छ । हितानका अन्य कथाले जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीशिकारी, बाढीपहिरो, जल तथा वायु प्रदूषण, वातावरण संरक्षण अभियान, विश्वव्यापी तापक्रम बृद्धिजस्ता विषयवस्तुलाई समेटेका छन् ।
वातावरण विज्ञानमा स्नातकोत्तर गरी वातावरण संरक्षण निकायमा काम गर्दै आएका हितानको यो कथासङ्ग्रहलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।