२०७८ का लागि ‘अन्तर्दृष्टि पुरस्कार’ तीन विधामा घोषणा गरिएको छ । २०७७ सालमा स्थापित यस पुरस्कार अपाङ्गता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ३, २०२१ को उपलक्ष्यमा अपाङ्गताप्रति समाजको विद्यमान नकारात्मक, विभेदपूर्ण एवम् यदाकदा पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्विकार्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा घोषणा गरिएकाे हाे ।
अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रोमहर्ष पन्थीलाई प्रदान गरिने भएको छ । शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार पन्थीलाई यो पुरस्कार प्रदान गर्न लागिएकाे हाे ।
अन्तर्दृष्टि हातेमालो पुरस्कार लुम्बिनी प्रदेशस्थित कपिलवस्तु जिल्लाको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई प्रदान गरिनेभएको छ । दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी गरिएको छनोट गरेअनुसार भट्टराईलाई यो पुरस्कार प्रदान गरिएकाे हाे ।
त्यस्तै, पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकमा कार्यरत पत्रकार विद्या राईलाई प्रदान गरिने भएकाे छ ।
देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो । ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ भने समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको निर्णयका आधारमा गरिएको हो।
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रू. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रू. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रू. १० हजार रहेको छ ।
अन्तर्दृष्टि पुरस्कार छनोट प्रकृयामा सहभागी विद्यार्थी, सघाउनुहुने शिक्षक, विद्यालय प्रशासन तथा प्रश्नावली निर्माणसहित अनवरत खटिएका अन्तर्दृष्टि पुरस्कार समितिका सदस्य एवम् सर्वेक्षकप्रति अन्तर्दृष्टि पुरस्कार समिति आभार प्रकट गर्दै यो सहयोगको निरन्तरताको अपेक्षासमेत राख्दछ ।
अन्तर्दृष्टि पुरस्कार समितिका संयाेजक होमनाथ अर्यालका अनुसार पुरस्कारहरू वसन्तपञ्चमीका दिन समर्पण गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।