साहित्यपोस्ट (इ) दैनिकको इजारायल संयोजकमा सिन्धु पौडेल नियुक्त हुनुभएको छ । भाषा र साहित्यमा पत्रकारिताको माध्यमबाट प्रवासका नेपालीलाई जोड्नेगरी साहित्यपोस्ट व्यवस्थापन विभागले पौडेललाई इजरायल संयोजकमा नियुक्त गरेको हो ।

इजराइलमा साहित्यपोस्ट लोकप्रिय भएकाले त्यहाँका गतिविधि र रचनाहरू साहित्यपोस्टमा प्रकाशनको जिम्मेवारी पनि उहाँलाई दिइएको प्रधानसम्पादक अश्विनी कोइरालाले बताउनु भएको छ ।

कथा, कविता, मुक्तक र गीतमा कलम चलाउने पौडेल प्रवासमा बसेर साहित्यिक गतिविधि गर्ने महिलामध्ये अग्रस्थानमा हुनुहुन्छ । उहाँ विश्व नेपाली साहित्य महासंघ इजारयल शाखाको उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ भने साहित्यिक चौतारी इजरायलकी सचिवका रूपमा पनि उहाँले कार्य सम्पादन गरिरहनुभएको छ । अब इजरायलमा हुने साहित्यिक गतिविधि र समाचारहरू साहित्यपोस्टमा प्रकाशन गर्ने जिम्मेवारी पौडेलले प्राप्त गर्नुभएको छ ।

चितवन पदमपुरकी स्थायी बासिन्दा सिन्धु पौडेल विद्यालय अध्ययनताका नै साहित्यप्रति रुचि भएको बताउनुहुन्छ । उहाँका रचनाहरू विभिन्न साहित्यिक पत्रिका र अनलाइनहरूमा प्रकाशित छन् । सहिद स्मृति बहुमुखी क्याम्पस टाँडीबाट उहाँले स्नातक गरुन्जेलसम्ममा उहाँमा साहित्यिक रुचि निकै माथि पुगिसकेको बताइएको छ । उहाँको एउटा मुक्तकसङ्ग्रह प्रकाशोन्मुख छ ।

‘म साहित्यपोस्टको प्रारम्भदेखि नै पाठक हुँ । यसले मलाई साहित्यका धेरै विधामा गम्भीर जानकारी दिन गरिन्छ ।’ इजरालय संयोजक भएपछि पौडेलले साहित्यपोस्टसँग भन्नुभयो, ‘इजरायलमा मजस्ता सयौँ साथीहरू साहित्यमा रुची राख्नुहुन्छ । विभिन्न गतिविधिहरू पनि भइरहन्छन् । ती सबैलाई एकै ठाउँमा ल्याउन पनि म साहित्यपोस्टसँग जोडिएको हुँ ।’

उहाँले साहित्यपोस्ट विश्वभर छरिएर रहेका नेपालीहरूका लागि साहित्यपोस्ट एउटा अनिवार्य साहित्यिक खुराक भएकाले यसमा जोडिन पाउँदा आफूलाई गौरव लागेको बताउनु भयो ।

प्रधानसम्पादक अश्विनी कोइराला पनि सिन्धु पौडेलसँगको सहकार्यमा पत्रिकाले थप उचाइ लिनेमा आशावादी हुनुहुन्छ । ‘सिन्धु पौडेल नेपाली भाषा र साहित्यमा रुचि राख्ने गम्भीर पाठक र साहित्यसेवी हुनुहुन्छ । उहाँले इजरायलको संयोजन गर्दा धेरैभन्दा धेरै पाठकसम्म पुग्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’