
भारतको नयाँ दिल्लीस्थित विश्वकर्मा कलोनीमा आइतबार २८ नोभेम्बरमा एभरेष्ट नेपाली पुस्तकालयको उद्घाटन गरियो । एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको तत्वाधानमा यो पुस्तकालय उद्घाटन गरिएको थियो । एभरेष्ट चेम्बर अफ कमर्स भारतीय नेपाली व्यापारीहरूको संस्था हो। पुस्तकालय उद्घाटनका मुख्य आकर्षक भारतका लागि नेपालका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी हुनुहुन्थ्यो । उहाँले पुस्तकालयको रिबन काटी उद्घाटन गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल दूतावासकी इकनोमिक मिनिस्टर श्रीमती निता अर्याल, कल्चरल काउन्सलर यदुनाथ पौड्यलाय, कर्नल रामचन्द्र खत्री पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा एभरेष्ट चेम्बरका संस्थापक अध्यक्ष चिरंजीवी मरासिनी, प्रो0 (डॉ0) युवराज पोखेल (साउथ एसियन युनिवर्सिटी), विष्णुबहादुर गुरूङ (आकाशवाणी, नेपाली विभाग, प्रमुखबाट सेवानिवृत) सहित पत्रकार, साहित्यकार साथै भारतका विभिन्न राज्यबाट एभरेष्ट चेम्बर अफ कमर्सका पदाधिकारीहरूसमेत उद्घाटनमा उपस्थित हुनुहुन्थ्यो ।
चेम्बर अफ कमर्स संस्थाका महासचिव मोहन कार्कीको संजोयनमा आयोजना भएको सो कार्यक्रममा उहाँले कुनै पनि समाजको सभ्यता, संस्कृति एवम् संस्कारको सर्म्वद्धनका लागि भाषा एवम् साहित्यको अत्यन्त महत्त्वपूर्ण योगदान हुने बताउँदै भारतमा नेपाली भाषी समाज विभिन्न विरोधाभासपूर्ण परिस्थितिको कारण आफ्नो भाषा, संस्कृति, साहित्य र संस्कारबाट काटिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । आफ्नो वास्तविक परिचयसँग गौरव गर्न नसकेको, खुलेर आफ्नो भाषा बोल्न हिच्किचाउने गरेको, आफ्नो जाति चिन्हारीमाथि गर्व गर्न नसकेको जस्ता विभिन्न घटनाहरू प्रसस्तै देखिने गरेको सत्य बताउँदै यस्तो अवस्थामा समाजका धरोहरलाई जोड्दै, हाम्रो गौरवशाली ऐतिहासिक धरोहरको खोज, संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गर्दै वर्तमानलाई स्वाभिमानी बनाउन तथा भविष्यलाई सुनौलो बनाउने क्रममा नेपाली पुस्तकालयको आवश्यकता सबैले महसुस गरिरहेको कुरालालाई केन्द्रमा राख्दै सम्पूर्ण भारतीय नेपाली बुद्धिजीवी, लेखक, पत्रकार सबैको सल्लाहअनुसार नेपाली/गोर्खा समाजका व्यापारीहरूको राष्ट्रिय संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज दिल्ली र पतञ्जली योगपीठ एवं हाम्रो स्वाभिमान ट्रस्टका संस्थापक आचार्य बालकृष्णको विशेष सहयोग एवम् मार्गदर्शनमा एभरेष्ट चेम्बर अफ कमर्सको कार्यालय भवन, विश्वकर्मा कलोनी, एम.बी. रोड, दिल्लीमा प्रथम नेपाली पुस्तकालयको शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
मुख्य अतिथि कार्यवाहक राजदूत सुवेदीले पुस्तकालय निर्माण गरिएकोमा नेपालका जनताको तर्फबाट पनि शुभकामना दिँदै भन्नु भयो, ‘नेपाल र भारतको सम्बन्ध आदिकालदेखि प्रगाढ थियो, छ र यसलाई निरन्तरता दिनलाई हामीले भिजिबिलिटी हुने कार्यप्रति पाइला चाल्नु पर्छ। हामीले दुवै देश जोड्ने कार्यहरू गर्नु पर्छ। नेपाल दूतावास साहित्य, संस्कृति, कला, भाषा एवं नेपालीका लागि सधैँ सहयोग गर्न तत्पर छ।’
विश्वकर्मा कलोनी, नयाँ दिल्लीमा निर्माण गरिएको यो पुस्तकालयमा पन्ध्र हजार भन्दा बढी पुस्तक राख्न सकिने अनि एक समयमा चालीस जनासम्म पाठक बसी पढ्न सकिने मात्र नभइ वातानुकूलित हलसमेत रहेको छ ।
कार्यक्रममा आचार्य बालकृष्णजी महाराज, पद्मश्री लीलबहादुर छेत्री, लोकसभा सांसद राजु बिस्ट, भाषा सेनानी तथा समाजसेवी तारापति उपाध्याय, काव्य महारथि छविलाल उपाध्यायका शुभकामना सन्देश वाचन गरिएको थियो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष युवराज बरालले गर्नुभएको थियो ।
हर्कबहादुर लामगादे ‘रोहित’को रिपोर्ट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

