सिद्धार्थ वनस्थली इन्स्टिच्युट, पनौतीका प्रधानाध्यापक नारायण निरौलाको पहिलो उपन्यास द सेकेण्ड गड राजधानीमा आयोजित एक कार्यक्रमका बिच विमोचन भएको छ ।

बिएन पुस्तक संसारका सञ्चालक ठाकुर चापागाईँको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार प्रभा बराल, अनुपम रोशी, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष केशव थापा, सजन थापा, नारायण निरौलालगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।

‘लेखक बौद्धिक व्यक्तित्व भएकाले पुस्तक पक्कै पनि राम्रै बनेको हुनुपर्छ । म उहाँलाई थप सिर्जनशील यात्राका लागि बधाइ दिन्छु ।’ प्रमुख अतिथिका रुपमा बोल्दै डा. शैलेन्दुप्रकाश नेपालले भने ।

उक्त कार्यक्रममा साहित्यकारद्वय प्रभा बराल र अनुपम रोशीले लेखक निरौलालाई कृतिका लागि बधाइ तथा शुभकामना दिएका थिए । त्यसैगरी लेखक निरौलाले आफूले अलि फरक संसारको कल्पनालाई उपन्यासमा उतारेको बताए । उनले द सेकेण्ड गड विज्ञानमा आधारित उपन्यास भएको पनि धारणा राखे ।

कार्यक्रमको सञ्चालन कवि मन्जिला अनिलले गरेकी थिइन् भने स्वागत मन्तव्य बिएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बिसीले राखेका थिए ।

१२८ पृष्ठको उक्त उपन्यासको बजार मूल्य २७५ रहेको छ ।