बान्तावा राई भाषामा प्रकाशित ‘बुङ्वाखा’को १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘१७औं बान्तावा कविता प्रतियोगिता’मा सहभागी हुने ‘उत्कृष्ट १७ कवि’हरूको छनोट गरिएको छ । मङ्सिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिका, बालंखामा हुने ‘बान्तावा साहित्य महोत्सव’मा कविहरूले कवितावाचन गर्नुहुनेछ ।

छनोट हुनुभएको कविहरूमा इलामका अर्जुन वेदना राई, दिलु राई र पुजन राई, उदयपुरका चाँदनी राई, धनकुटाका तुलसा ‘स्वदेशी’ राई र खोटाङका नन्द हाङखिम हुनुहुन्छ । त्यस्तै, काठमाडौका प्रजितकला राई, सिक्किमका शोभा राई, पाँचथरका प्रदीप राई, संखुवासभाका बिबिमाया राई र झापाका हरिबहादुर राईले पनि कवितावाचन गर्नुहुनेछ । भोजपुरका रविन्द्र बान्तावा, बलबहादुर राई, रामकुमार राई, लंकामान राई, विनोद बान्तावा र सन्दीप राई पनि ‘उत्कृष्ट १७ कवि’का रूपमा छनोट हुनुभएको छ ।

बुङ्वाखा १७ वर्ष पुगेको अवसरमा महोत्सवमा १७ जना कविहरूको सहभागिता गराइने भएको हो । प्रतियोगितामा विजेता कविहरू ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुहुनेछ । पुरस्कारको राशी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद र प्रमाणपत्र रहेको छ । ‘उत्कृष्ट १७ कवि’हरूलाई प्रमाणपत्र र उपहारहरू प्रदान गरिनेछ ।

महोत्सवमा पाँच जना कविहरूलाई अतिथि कविको रूपमा आमन्त्रण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह साय्‌मि, प्रा.डा. विष्णुसिं राई, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम स्थान हासिल गर्नुभएका कवि कविता राई र बान्तावा कवि जयबहादुर राई अतिथि कविको रूपमा रहनुभएको बुङ्वाखा सम्पादक पदम राईले जानकारी दिनुभएको छ ।