Author Sarala Gautam

पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको सङ्कलन ‘पिँजडाको मान्छे’ सार्वजनिक गरेको छ । यो पुस्तक यस वर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ लाई प्राइमरी ई-बुकको रुपमा प्रकाशित गरेको थियो ।

सङ्कलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तक निर्माणको मनोवैज्ञानिक विचरण बारे प्रष्ट्याउँदै लेखक गौतम भन्छिन्, ‘महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो- कोविडभन्दा पहिलो र कोविडभन्दा पछिल्लो धार । महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ । यो अन्तरालमा पितृसत्ता, पर्यावरण्, कृषि, समानताका मुद्धाहरुलाई नियाल्ने नयाँ आयाम खुलेका छन । विराटतम् स्वतन्त्रताको खोजीमा सहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरूको जञ्जालमा फँस्दैगएको छ, त्यही प्रकृयाहरूको चिन्तनको उपज हो यो पुस्तक ।’

सङ्कलित निबन्धहरूमा सुपरिचित गद्य-शैली झल्किएको छ जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रूपमा स्थापित गराउन मद्दत गरेको छ । समाचारपत्रमा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।

‘हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँचयोग्य डिजिटल फर्म्याटमा काम गरिरहेका छौँ,’ पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी गराइन्, ‘पिँजडाको मान्छे यो शृङ्खलाको पहिलो कृति हो । आगामी दिनहरूमा हामी ई-बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्नेछौँ । ई-बुकले सुस्त गतिमै भए पनि नेपाली पाठकहरूबीच आफ्नो स्थान बनाउदै छ ।’

‘पिँजडाको मान्छे नेपाली बजारका निम्ति थुप्रै डट कम (www.thuprai.com) ले रु. १०० मा उपलब्ध गराउने छ।