कोभिड १९ पछि झण्डै दुई वर्ष बन्द भएको बुकाहोलिक्सको मासिक कार्यक्रम ‘चकटी बहस’ पुनः सुरु भएको छ । भक्तपुरको कौसलटारमा पठन संस्कृतिलाई बाढावा दिन खुलेको रिडर्स हबको सानो प्रेक्षालयमा बुकाहोलिक्सले आफ्नो ७२ औँ शृंखलामा २०७७ सालको पद्मश्री पुरस्कार विजेता पुस्तक ‘मोक्षभूमि’माथि बहस आयोजना गरेको हो ।
कार्यक्रमका मुख्य आकर्षक उपन्यासका लेखक केशव दाहाल थिए भने पुस्तकको मुख्य समीक्षक नवीनजंग केसी थिए । केसीको समीक्षा सुन्न र त्यसमाथि लेखक दाहालको स्पष्टिकरण सुन्न पुराना पुस्ताका दर्जन र नयाँ पुस्ताका झण्डै दुई दर्जन पाठक भेला भएका थिए । मुख्य समीक्षापछि दर्शक दीर्घाबाट पनि लेखक दाहालमाथि प्रश्नहरु ओइरिएका थिए ।
‘पुस्तक निकै सुन्दर बनेको छ । खासमा भन्ने हो भने धेरैपछि नेपाली साहित्यमा मास्टरपीस उपन्यास पाठकले पढ्न पाए ।’ समीक्षक केसीले झण्डै एक घन्टा लामो समीक्षापछि भनेका थिए, ‘यो पुस्तक भाषा, शैली, प्रस्तुति र विचारका दृष्टिले उत्तम छ ।’
कार्यक्रममा पाठकका तर्फबाट शनतकुमार वस्तीले मोक्षभूमि उपन्यास गद्यमा लेखिएको महाकाव्य जस्तो भएको टिपणी गरे । त्यसैगरि अध्येता दिनेश श्रेष्ठ र बुकाहोलिक्सकी संस्थापक सगुना शाहले पनि पुस्तकमाथि टिप्पणी गर्दै केही प्रश्नहरु सोधेका थिए ।
कार्यक्रमपछि लेखक र समीक्षकलाई बुकाहोलिक्सका तर्फबाट पुस्तकहरु उपहार दिइएको थियो । कार्यक्रमको प्रायोजक रिडर्स हस कफी सपले गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।