साहित्यकार शीला सैंजू शितलाको बालकथासङ्ग्रह छिरबिरे छाताको एक समारोहका बिच सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा साहित्यकार धु्व मधिकर्मी र शिक्षाविद् रामचन्द्र पाण्डेले संयुक्त रुपमा सो संग्रहको विमोचन गर्नुभयो ।
विमोचनपछि कृतिमाथि बोल्दै कथाकार मधिकर्मीले बालबालिकाहरुको मनोरञ्जनका साथै बौद्धिक विकासको लागि बालसाहित्यको पनि ठूलो भूमिका हुने बताउनुभयो । साथै उहाँले शीलाका बालकथाहरुले बालबालिकालाई रमाइलो अनुभूति गराउँदै जीवनमा सकारात्मक सोच बनाउनुपर्ने शिक्षा दिएको छ भन्नुभयो ।
शिक्षाविद् पाण्डेले कथाकविताको माध्यमबाट पनि बालबालिकाको सिकाइमा प्रभाव पार्न सकिने बताउनुभयो ।
कृतिका लेखिका सैंजूले बालबालिकाको मनोभावना बुझेर लेख्नु भनेको चुनौतीको विषय भएको बताउँदै आफूले सानो प्रयास गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कवि हरिहर तिमिल्सीना, तेजराम झा, शर्मिला मुलेपति र निमा कर्माचार्यले लेखिका सैंजूलाई आफ्ना अनुभवलाई कथामा उतारेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा बालबालिकाको मनोरञ्जनको लागि तेजस्वीनी झा र यशस्वीनी झाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लेखिका सैंजूले भक्तपुरको विद्यालयलाई निःशुल्क वितरण गर्न तीनसय प्रति पुस्तक र नारी सशक्तिकरणको लागि कार्यरत् संस्था इनव्हीलको सहयोगार्थ संयोजक निमा कर्माचार्यलाई पाँचसयप्रति पुस्तक प्रदान गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।