प्रसिद्ध व्यङ्ग्यशिल्पी श्याम गोतामेको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक भएको छ । सिस्नोपानी नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्रष्टा यादव खरेलले उक्त व्यङ्ग्यकृतिको विमोचन गर्नुभएको हो ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा खरेलले विमोचन मन्तव्य दिँदै व्यङ्ग्यशिल्पी गोतामेका व्यङ्ग्य रचना कालजयी र सार्वकालिक रहेको बताए । करिब २५ वर्षअघि लेखिएका गोतामेका व्यङ्ग्य निबन्ध आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँले बताउनुभयो ।

प्रवृत्तिमाथि खरो व्यङ्ग्य गर्ने क्षमता भएका गोतामेको स्मृतिमा परिवारजनले केही विशेष कार्य गर्नुपर्ने खरेलको राय थियो ।

सार्वजनिक निबन्धसंङ्ग्रहमाथि साहित्यकार नरेन्द्रराज पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजेश खनाल, मनोज गजुरेल, नीरा गौतम र सरोज घिमिरेले बोल्नुभएको थियो ।