मुक्तकसागर साहित्यिक त्रैमासिकको आयोजनामा मुक्तककार मीना चौलागाईँद्वारा लिखित मुक्तकसङ्ग्रह ‘मुक्तक मिनार’को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय महिला आयोगको सभाहलमा सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विशेष अतिथि प्राज्ञ माया ठकुरी रहनुभएको थियो । त्यस्तै, अन्य अतिथिहरूमा साहित्यकार कृष्ण धराबासी (अतिथि), प्राज्ञ विवश पोखरेल (अतिथि तथा समीक्षक), नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने (अतिथि), मुक्तकसागरकी सम्पादक निशा केसी (सभाध्यक्ष), साहित्यकार गिरिराज डल्लाकोटी (अतिथि वक्ता), अनुवादक तिलक लुईंटल (अतिथि वक्ता), कवि प्रथा (अतिथि वक्ता), कृतिकार मीना चौलागाईँ र अमेरिकाबाट नेपाल आउनुभएका मुक्तककार आनन्द श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा मुक्तकसागरका सल्लाहकार राजन सिलवालले वर्तमान समयलाई नेपाली मुक्तकको उत्कर्ष कालका रूपमा चित्रित गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी, कार्यक्रममा मुक्तककारहरू प्रकाश बस्नेत गफाडी, सुनिल अधिकारी, विनोद खत्री, सन्तोष अम्गाईँ, पार्वती भट्ट र कृतिकारकी छोरी रञ्जिता चौलागाईँले कृतिभित्रबाट दुई दुईवटा मुक्तकहरू वाचन गरेर सुनाउनुभएको थियो ।
कृतिमाथि प्राज्ञ विवश पोखरेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने प्रमुख अतिथि विष्णुविभु घिमिरे र अतिथि कृष्ण धराबासीले तीसको दशकमा नेपाली मुक्तकको अवस्था र स्वरूपको स्मरण गर्नुभएको थियो । प्रमुख अतिथि विष्णुविभु घिमिरेले मुक्तक विधाको संस्थागत उन्नयन र विकासमा मुक्तकसागर त्रैमासिकले पछिल्ला वर्षहरुमा खेलिरहेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । मुक्तककार रामकाजी कोनेले नेपाल मुक्तक प्रतिष्ठानले नेपाली मुक्तकको मानक र स्तरीकरणका लागि खेलेको भूमिकाको स्मरण गर्दै मुक्तकलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न भइरहेको पहलबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा कृतिकारकी छोरी तथा प्रकाशक आयुश्री चौलागाईँले आफ्नी आमाको लेखकीय सङ्घर्षको चर्चा गर्नुभयो । कृतिकार मीना चौलागाईँले कृतिभित्रबाट आफ्ना दुई मुक्तकहरू वाचन गर्दै आफ्नो पाँच वर्षे मुक्तक लेखनयात्राको स्मरण र भावी लेखन तथा प्रकाशन योजनाबारेमा मन्तव्य राख्नुभयो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा मुक्तकसागरकी सम्पादक निशा केसीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मुक्तकसागरका नवीनतम गतिविधिहरुमाथि प्रकाश पार्नुभयो ।
साहित्यकार यादव भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा मुक्तकसागरका विभिन्न अङ्कहरु निशुल्क वितरण गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।