पद जति ठूलो हुँदै गयो, त्यसले दिने राप र ताप अझै बढ्दै जानु स्वभाविक नै हो । नेपालको प्रशासनिक क्षेत्रमा, त्यसमा पनि कुनै राजनीतिक सदस्यता नलिएको व्यक्तिले त्यो राप र ताप अझै बढी सहनु पर्छ । त्यसमाथि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको हवाइ उडानलाई दिशानिर्देश गर्ने पदमा बस्नु र हरेक मिनेट आकाशमा उडिरहेका र उत्रिरहेका जहाजमा त्रुटि हुन नदिन निर्देशन दिइरहनु अझ गाह्रो काम ।

हवाई उड्ययनमा तीन दशकभन्दा बढी समय गुजारेर धेरै वर्ष यस्तै रापिएको कुर्सीमा बसेर बिताएका त्रिरत्न मानन्धरले यस्तै राप र तापमा बिताएका कुराहरू बताइरहँदा दर्शक दीर्घामा बसेका साहित्यका पाठकहरू छक्क परिरहेका थिए । भक्तपुरको कौसलटारमा पढन्तेहरूलाई ध्यानमा राखेर खुलेको रिडर्स हब कफीसपमा भेला भएका साहित्यकार र पत्रकारहरूले त्रिरत्नका किताबमा भएका कुराहरू सुनिरहँदा घन्टौँ बितेको पत्तै पाएनन् ।

रिडर्स हबले हरेक शनिबार एउटा चर्चित पुस्तकमाथि पाठकका धारणा र लेखकको स्पष्टीकरण लिने कार्य सुरु गरेको छ । जसको नाम राखिएको छ, ‘सिर्जना र अनुभूति’ । यसको सुरुवाता त्रिरत्नको पुस्तक ‘हट चेयर’बाट भएको छ ।

कार्यक्रमको सुरुवात चलचित्र निर्देशक, लेखक, कवि एवं साहित्य र संगीतका अन्वेषक प्रकाश सायमीले गरे । त्रिरत्नलाई पुस्तक प्रकाशन गर्न हौसला दिने र त्यसलाई पाठकसम्म पुर्‍याउन मद्त गर्ने व्यक्तिका रूपमा प्रकाश सायमीलाई त्रिरत्नले हौसला दिइरहँदा सायमी भने पुस्तकको विषय नै नौलो भएकाले एक जना पाठकको नाताले यो पुस्तक लेखनमा हौसला दिनु आफ्नो कर्तव्य भएको बताइरहेका थिए ।

पुस्तक एसिटी (एयर ट्राफिक कन्ट्रोलर) बाट उड्ड्यन विभागका महानिर्देशकसम्मको जिम्मेवारी सम्हालेका एकजना काठमाडौँको खाँटी नेवारको जीवनकथासँग सम्बन्धित छ । कार्यक्रममा उपस्थित पाठकहरुका अनुसार पुस्तकले जीवनी, आत्मकथा, अनुभवन्यास, उड्यनको प्राविधिक पुस्तक र नेपाली प्रशासनका बेथिती सबैको स्वाद दिन्छ । राजनीतिमा नलागेकै कारण कुनै बेला कुनामा मिल्क्याइएका मानन्धरले जब कुनै एकजना नेतासँग जी हजुरी बजाउन थाले, उनका दुर्दिनको अन्त्य हुन पुग्यो । नेपालमा राजनीतिले कसरी गाँजेको छ, त्यसको उदाहरण पुस्तकका लेखक आफै हुन पुगेको दृष्टान्त देखिन्छ ।

उसो त पुस्तकको मुख्य विषय नेपालको उड्डयनको सिलसिलेवर इतिहास हो लेखकको त्यस क्षेत्रको भोगाइलाई मुख्य विषय बनाएको हो ।

प्रकाश शायमीले सुरु गरेको कार्यक्रमलाई प्राध्यापक डां शनतकुमार वस्तीले सहजीकरण गरेका थिए । त्यसमा कवि उपन्यासकार रमेशानन्द वैद्य, स्रष्टा ढकाल राधेश्याम, साहित्यिक पत्रकार शरद् प्रधान, कवि कथाकार केशवलोचन घिमिरे, सीताराम उप्रेती, जीवनारायण श्रेष्ठ, पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, लेखक पत्रकार अश्विनी कोइराला, तुलसीहरि कोइराला, राजेश खनाल सबैले पुस्तकमाथि आफ्ना दृष्टिकोण पस्किएका थिए ।

गएको दसैँमा बजारमा आएको हट चेयरलाई नेपाली उड्डयन क्षेत्रको पहिलो पुस्तक मानिएको छ । कार्यक्रमलाई रिडर्स हब, साहित्यपोस्ट दैनिक र मकालु खबरले सहयोग गरेका थिए ।