नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मत ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजुलाई चयन गरेको हो । त्यस्तै, केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा. शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा हुनुभएको छ ।

वि.स. २०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा. रेवतीरमण लाल र वासुदेव अधिकारीलाई चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे बनेपा घोषणापत्र पनि जारी गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको बताउनुभयो । उहाँले साहित्यिक पत्रकारिताले देशको जेठो पत्रकारिताको रूप धारण गरे पनि त्यसले गति लिन नसक्नुको मुख्य कारण राज्यले आवश्यक सहयोग गर्न नसक्नु रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “साहित्यिक पत्रपत्रिका टिकाउनु राज्यको पनि दायित्व भएकाले काउन्सिलको वर्गीकरणमा पारेर मात्रै नभई त्यसलाई विशेष प्रकारले राज्यले सहयोग गर्न आवश्यक छ ।”

कार्यक्रमको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष नगेन्द्रराज शर्माले अब नयाँ आउने कार्यसमितिले साहित्यिक पत्रकारहरूको पक्षमा राम्रो काम गरेको हेरेर रम्न चाहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालभरि सौहाद्रपूर्ण वातावरणमा काम गरेको उल्लेख गर्दै अबको कार्यकालमा त्योभन्दा राम्रो गर्न शुभकामना दिनुभयो ।

सम्मेलनमा निवर्तमान महासचिव मोहन दुवाल र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको सांगठनिक र आर्थिक प्रतिवेदन छलफलसहित पारित गरिएको थियो । सम्मेलनमा निर्वाचनका प्रयोजनका लागि पूर्वअध्यक्ष घिमिरेको संयोजकत्वमा शर्मा, मातृका पोखरेल र नरेन्द्रबहादुर श्रेष्ठ रहेको समिति गठन गरिएको थियो ।

कार्यक्रममा सङ्घको प्रकाशन ‘आलेखन–३’ को पनि लोकार्पण गरिएको थियो ।