पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औँ वार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन गरेर मनाएको छ । समाजले २७ औँ वार्षिक दिवस समारोहका साथै १७२ औँ छविलाल नेपाल जन्मजयन्ती र ११९ औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीको संयुक्त समारोहमा कृति विमोचनका साथै सष्टाहरूलाई सम्मान एवं पुरस्कार वितरण गरेको हो ।
प्रमुख अतिथि बौद्ध विद्वान् छत्रराज शाक्य रहनुभएको कार्यक्रममा देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली विशिष्ठ अतिथि रहनुभएको थियो । उहाँहरूले संयुक्तरूपमा कृतिको विमोचन साथै सष्टाहरूलाई सम्मान एवं पुरस्कार वितरण गर्नुभएको हो ।
त्यसैगरी समाजले हरेक वर्ष प्रदान गर्दै आएको पाल्पाली आदिकवि छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार भूगोलविद् लेखक विनोदप्रसाद श्रेष्ठ , इन्द्रराधा भारती सामाजिक सेवा सम्मान समाजसेवी तुलशी कुमारी श्रेष्ठ र पासास सम्मान अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यलाई प्रदान गरेको छ । समाजले हालसम्म साहित्य र समाजसेवामा गरी सयौँ व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित कृति “अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य” ( जीवनी, व्यक्तित्व र कृतित्व ) माथि समीक्षा गर्दै समीक्षक महेन्द्र पन्थीले देवेन्द्रराज शाक्यको विविध पाटाहरूको प्रकाश पार्नुभएको थियो । पाल्पामा जन्म भई बुटवलमा कर्म गर्दै आउनुभएका देवेन्द्रराज शाक्यका हालसम्म डेढ दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् ।
पाल्पा उद्योग बाणिज्य सङ्घको सभा कक्षमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सल्लाहकार चित्रवली राम सुवालको स्वागतमन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष पुरूषोत्तम अर्यालको सोचालन गर्नुभएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।