मङ्सिर १८ र १९ गते इलाममा साहित्यिक पत्रकार सङ्घ, काठमाडौँ; इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ ।
दुई दिवसीय सो सम्मेलनमा नेपाल र भारतका एक सय बढी साहित्यकारहरूको उपस्थिति रहनेछ । साहित्यिक पत्रकार सङ्घ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा भूपि शेरचन, केशवराज पिडाली, शङ्कर कोइरालालगायतका स्रष्टाहरूको विशेष उपस्थिति रहेको थियो ।
यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्यटनमा मद्दत पुग्ने विश्वास लिइएको छ । सो सम्मेनलनमा कार्यपत्रहरु प्रस्तुति, पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, कवि सम्मेलन तथा इलाममा पर्यटकीय स्थलहरुको प्रदर्शनीलगायतका कार्यक्रमहरू हुनेछन् ।
इलाम नगरपालिकाले हालै स्रष्टापार्कको निर्माण गरिसकेको छ । भौतिक उपलब्धीमा अग्रस्थानमा रहेको इलाम नगरपालिका साहित्यिक र सांस्कृतिक विकासको लागि साहित्य, कला, सङ्गीत प्रतिष्ठानको स्थापना गरेर काम गर्दै आएको छ । यस्तै इलामको पर्यटन विकासको लागि पनि इलाम नगर पर्यटन सरोकार समितिमार्फत् काम गर्दै आएको छ ।
साहित्य, कला, सङ्गीत प्रतिष्ठानले इलाममा पारिजातको प्रतिमा स्थापना, अरनिको सास्कृतिक सङ्ग्राहालयको व्यवस्थापन र सञ्चालन, वरिष्ठ सङ्गीतकार कोमल निरौलाको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण, चर्चित साहित्यकार विष्णु नवीनको अप्रकाशित तीन कृतिहरूको प्रकाशन, वरिष्ठ इतिहासविद एवं लेखक प्रा. युद्धप्रसाद वैद्यको “इलाम इतिहास र विकास” कृतिको प्रकाशन र बालसाहित्यको कृति प्रकाशनलगायत विभिन्न साहित्यिक र सास्कृतिक गतिविधिहरू सम्पन्न गर्दै आएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

