बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले ‘अन्तिम अतिथि’ शीर्षकको कथाका लागि प्राप्त गरेका छन् । बाह्रखरी बुक्सले आज डिशहोम १२खरी कथा प्रतियोगिता–२०७८ मा उत्कृष्ट २५ मा परेका र तीमध्येबाट प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल कथाकारहरूको नाम तथा कथाको शीर्षक सार्वजनिक गरेको हो ।
यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन् । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँ रहेको छ ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा-२०७८’ को पनि लोकापर्ण गरिएको छ ।
प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरण तथा पुस्तकको लोकार्पण गरेका थिए । प्रमुख अतिथि डा. रिजालले प्रथम तीनसहित उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे ।
आख्यान साहित्यका साधकहरूको सम्मानमा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मुलुककै सबैभन्दा ठूलो कथा प्रतियोगिताको तेस्रो संस्करणमा आइपुग्दै आज यस वर्षको उत्कृष्ट २५ कथा र कथाकारहरूको नाम सार्वजनिक गर्न पाउँदा गौरव महसुस गरेको बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीले स्वागत मन्तव्यका क्रममा बताए ।
यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहेका छन् ।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहेका थिए । आन्तरिक समिति बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको थियो ।
प्रतियोगितामा प्राप्त ४०० बढी कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो । उक्त ५० कथाहरू मध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरेको थियो ।
कथा प्रतियोगिताका लागि देश–विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरूकोे सँगालो ‘१२खरी उत्कृष्ट कथा–२०७८’ को सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गरेका हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
