कवि विमल गुरुङको पचासौँ जन्मजयन्तीको अवसरमा लेखक, पत्रकार, साहित्यकार, कलाकार र राजनीतिज्ञलाई सम्मानित गरिने भएकाे छ । कवि गुरुङको जन्मजयन्ती समाराेहसँगै ३० औँ राष्ट्रिय कविता महोत्सव पनि गर्न लागिएको हो ।

महोत्सव मङ्सिर १९ गते गरिने जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएकाे छ । महोत्सवमा देशविदेश जहाँबाट पनि पद्य, गद्य दुवै विधामा कविता पठाउन सकिने विमल गुरुङ स्मृति पुस्तकालय सञ्चालक समितिका सचिव गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभएको छ ।

मङ्सिरको १५ गतेभित्र आएका कवितालाई महोत्सवमा समावेश गराइने तिम्सिनाले जनाउनुभएकाे छ । जसका लागि ई–मेल, ह्वाटस्एपलगायतबाट कविता पठाउन सकिने जनाइएको छ । कविताको शब्दसीमा २ सय शब्द तोकिएको छ ।

प्राप्त कविताहरूलाई भाषाविद् प्रा.डा. टङ्क न्यौपानेको संयोकजत्वमा सदस्य डा. भीम लिम्बू, डा. महानन्द तिम्सिना, र डा. गोपाल भण्डारीको समितिले छनोट गर्दै उत्कृष्ट १० को नाम सार्वजनिक गर्नेछ । उत्कृष्ट १० कविताहरूका कवि तथा कवयित्रीहरू स्वयम् उपस्थित भएर वाचन गरेका आधारमा उत्कृष्ट चारलाई पुरस्कृत गरिने सचिव तिम्सिनाले जानकारी दिनुभएकाे छ ।

विजेताले २१ हजार, दोस्रोले १७ हजार, तेस्रोले ११ हजार र सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभएकाे छ ।

पुस्तकालयले हरेक वर्ष कविता महोत्सव गराउँदै आएको छ । यसक्रममा २१ जना पत्रकार, लेखक, साहित्यकार, कलाकार र राजनीतिज्ञहरूलाई सम्मान गरिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभएकाे छ ।