सन् २०१८ मा रिलिज भएको फिल्म ‘बबी’की अभिनेत्री कविता गुरुङले आत्मकथा प्रकाशनमा ल्याएकी छिन् । सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनका बिच अभिनेत्रीको आत्मकथा ‘म अनि मेरो’ निर्देशक मिलन चाम्सले सार्वजनिक गरेका हुन् ।
अभिनेत्री गुरूङले फिल्ममा नसमेटिएका प्रसंग र तथ्यलाई पुस्तकमा समेटिएको जानकारी दिएकी छिन् । साहित्यपोस्टसँग उनले भनिन्, ‘फिल्ममा समेटिन नसकेका कुराहरुलाई पुस्तकमा समेटेकी छु । मैले बिक्री गर्नका लागि पुस्तक लेखेकी होइन । स्वान्तसुखायका लागि लेखेकी हुँ । तर पनि पाठकले मेराे पुस्तक पढ्दा इन्जोय गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
उनले थपिन्, ‘फिल्म बनाउँदा साढे २ घण्टामा सबै कुरा समेट्न सम्भव हुँदैन । पुस्तक त्यतिबेलाकी म भएर लेखेकी छु । जुन बेला म बुहारी भएर आएँ, त्यो बेलाको कुरा लेखेकी छु ।’
जीवन यात्रामा भेटिएका पात्र र भोगेका घटनालाई पुस्तकमा उतारेको जानकारी उनले दिइन् । पुस्तकमा अन्तरजातीय बिहे गर्दाको भोगाइ, अनुभवसहित नेपालदेखि नर्वेसम्मको यात्राका अनुभव समेटिएको उनले जनाइन् । पति उमेश थापाको मद्दतले पुस्तक लेख्न सकेको उनको कथन छ ।
तीनवर्ष अघि प्रदर्शनमा आएको उमेश र कविताको बायोपिक फिल्म ‘बबी’ले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।