हरि अधिकारी

यसै वर्षदेखि गैरआवासीय नेपाली सङ्घद्वारा स्थापित ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार’ हरि अधिकारीको कृति ‘सङ्कलित गद्यरचना’लाई प्रदान गरिएको छ । एक कार्यक्रमका बिच प्रमुख अतिथि शताब्दी पुरूष सत्यमोहन जोशीले उक्त पुरस्कार अधिकारीलाई अर्पण गर्नुभएको हो ।

पुरस्कारस्वरूप अधिकारीलाई रु. दुई लाख नगदसहित प्रमाणपत्र अर्पण गरिएको हो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली सङ्घ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिलाई आग्रह गर्नुभएको छ । सङ्घले नेपाली भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिका नाममा आयोजना गरेको ‘अरनिको अन्तरराष्ट्रिय पुरस्कार समर्पण समारोहमा’मा जोशीले अरनिको मुलुककै पहिलो गैरआवासीय नेपाली नागरिक भएको चर्चासमेत गर्नुभयो ।

वरिष्ठ साहित्यकार नयनराज पाण्डेले २०७७ सालमा प्रकाशित कृति सङ्कलन गरी सोमध्ये हरि अधिकारीको रचना उत्कृष्ट हुनुका साथै अरू साहित्यकारले नछोएका कुरा समावेश गरिएको हुँदा पुरस्कारका लागि छनोट गरिएको धारणा राख्नुभयो ।

कार्यक्रममा सङ्घका भाषा तथा साहित्य समितिका संयोजक हिक्मत थापाले हाल १०० भन्दा बढी मुलुकमा नेपालीको बसोबास रहेको र उनीहरूका रचनाको खोजी गर्न जरुरी रहेको बताउनुभयो । सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले मुलुकका शसक्त अनि जुझारु व्यक्तित्व अधिकारीलाई आफूहरूले छनोट गरी पहिलो पुरस्कार प्रदान गर्न पाउँदा प्रसन्नता मिलेको धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष कुमार पन्तले कला र संस्कृतिको धनी पाटनमा जोशीद्वारा पहिलो पुरस्कारको आरम्भ गर्न पाउँदा हर्षित भएको बताउनुभयो । पुरस्कृत व्यक्तित्व अधिकारीले सो पुरस्कार पहिलोपटक नै आफूले पाएको खुशी व्यक्त गर्नुभयो ।