नेपाल प्रज्ञा प्रतिष्ठान

कार्तिक २८ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभाको समुद्घाटन प्रधानमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले गर्नुभयाे । उक्त सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक प्रेमबहादुर आले विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस समाराेहमार्फत प्राज्ञ सभाले वार्षिक नीति तथा कार्यक्रम पारित गर्नुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय गरेकाे थियो ।

सभाको समुद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ गर्नुभयो । उक्त वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका विक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

सदस्य सचिव प्रा. उपाध्यायले सोही अवसरमा बहुप्रतिक्षित लेखक/साहित्यकार परिचय–पत्र वितरण आरम्भ गरिने बताउनुभयो । प्रधानमन्त्रीद्वारा प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति बैरागी काइँला र पूर्व सदस्य सचिव गीता केशरीलाई परिचय–पत्र प्रदान गरी लेखक/साहित्यकार परिचय–पत्र वितरणको आरम्भ गरियो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको प्रतिक्रिया दिनुभएकाे छ । यस्तै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शुभकामना व्यक्त गर्नुभएकाे छ  ।

कसले पाउँछन् ‘लेखक साहित्यकार परिचयपत्र’ ?

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायका अनुसार २०७५ सालदेखि नै साहित्यकार परिचयपत्र वितरण कार्यविधि बनाउने काम शुरु भएको थियो । त्यतिबेला साहित्यकारको वर्ग छुट्याएर परिचयपत्र दिने भनिए पनि त्यसो गर्दा वर्गीय भिन्नता देखिने भएकाले सबैलाई एकै प्रकारको परिचयत्र वितरण गर्ने निर्णय गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान लेखक साहित्यकार परिचयपत्र कार्यविधि २०७७  बनाएकाे छ । त्यही कार्यविधिअनुसार भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रमा क्षेत्रमा काम गरेका लेखकको यदि एउटा पुस्तक अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय अनुसन्धानमूलक लेख प्रकाशित छ भने परिचयपत्र प्रदान गरिनेछ ।

लेखकले आफ्नो विवरण भरेर आवेदन दिएपछि मात्र परिचयपत्र पाइने प्रावधान बनाइएको छ । अहिले अनलाइनबाट फारम भर्ने व्यवस्था गरिए पनि फारम भरेपछि सिफारिस समितिले कुलपतिसमक्ष सिफारिस गर्नुपर्छ । यसपछि मात्र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको हस्ताक्षरसहितको परिचयपत्र प्राप्त हुन्छ ।

परिचयपत्रमा लेखक-साहित्यकारका नाम-उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ ।परिचयपत्रकै लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिवको संयोजकत्वमा ‘लेखक साहित्यकार परिचयपत्र सिफारिस समिति’ बनाइएको छ । उक्त समितिले कुलपतिसमक्ष लेखक सिफारिस गरेपछि मात्र परिचयपत्र दिइन्छ ।