वरिष्ठ साहित्यकार एवम् कवि विजय बजिमयको आज निधन भएको छ । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उनको जन्मथलो पोखरा आजै लगिएको छ ।

शारीरिक रूपमा जन्मजात अशक्त बजिमयको जन्म २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा भएको थियो । उहाँले नेपाली साहित्यमा कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट  विशिष्ट योगदान दिनुभएको छ ।

वि.स. २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह) र ‘अन्त्वत्तोगत्वा’ (कथासङ्ग्रह) प्रकाशित छन् । त्यस्तै, करिब आधा दर्जन कृतिहरू प्रकाशनको तयारीमा रहेका छन् ।

राष्ट्रिय कविता महोत्सवमा प्रथमसमेत भइसक्नुभएका बजिमयले व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मान प्राप्त गर्नुका साथै दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादनसमेत गर्नुभएकाे थियो ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक सङ्घको केन्द्रीय नेतृत्वमा आदिमा रहेर काम गरिसक्नुभएकाे छ ।