पोखरा, कार्तिक २५ / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति वासिङ्टन डिसीको आयोजनामा पोखरामा पर्यटन साहित्य उत्सव हुने भएको छ ।

कार्यक्रम केन्द्रीय समितिको आयोजना र नेपाल च्याप्टरको समन्वयमा कार्तिक २७ गते नेपालको पर्यटकीय स्थल सराङ्कोटमा हुने जनाइएको छ ।

उक्त समारोहमा साहित्य उत्सवसहित अनेसासको प्रकाशन ‘साधनाको स्वर्ण वर्ष: मुक्तकमणि तीर्थराज अधिकारी’ बृहत् ग्रन्थ र अङ्ग्रेजी–नेपाली मुक्तकसङ्ग्रह ‘जूनका टुक्राहरू’ गृह लोकार्पण गरिने केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले बताए ।

साहित्यलाई पर्यटनसँग जोडेर अगाडि लैजानु वर्तमानको आवश्यकता भएकाले उर्वर भूमि पोखराबाट साहित्य उत्सव थालनी गौरवको कुरा रहेको धारणा नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको छ ।

उत्सवमा अनेसासका केन्द्रदेखि नेपाल च्याप्टर आबद्ध पदाधिकारी, आजीवन सदस्य र अग्रज स्रष्टा साधकको सहभागिता रहने कार्यक्रम संयोजक असफल गौतमले जानकारी दिए ।