भक्तपुरस्थित रिडर्स हब क्याफे कौसलटारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कीर्तित्वका बारेमा चर्चा र रचनावाचन गरिएको छ । देवकोटाको ११३ औँ जन्म जयन्तीको सन्दर्भ पारेर बिहीबार आयोजना गरिएको कार्यक्रममा प्रा. सनत वस्ती, लेखक केशव दाहाल, संविधानविद् डा. भीमार्जुन आचार्य, प्रा. योगेश्वर निरौला, डा. प्रदीपकुमार मैनाली, लेखक तथा पत्रकार अश्विनी कोइराला लगायतले देवकोटाका सिर्जना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा चर्चा गर्नुभएको थियो ।
देवकोटाका सिर्जनामा साहित्यको माधुर्य मात्र नभएर जीवन र जगतको तादाम्यता र मार्गदर्शनसमेत रहेकाले युगयुगसम्म पनि उस्तै सान्दर्भिक हुनेबारे चर्चा गरिएको थियो । उहाँहरूले देवकोटाका रचनामा कतै भौतिकवाद त कतै आध्यात्मिकता हाबी भएको पाइने गरेको र यसैलाई समालोचकहरूले आ आफ्नै ढङ्गले व्याख्या गर्ने गरेको भन्दै उहाँमा अध्यात्मको गहिरो प्रभाव भेटिने बताउनुभयो ।
वस्तीले देवकोटाको वैयक्तिक जीवनका आधारमा भन्दा उहाँका कृतिका आधारमा विवेचना गर्नु श्रेयस्कर हुने बताउनुभयो । देवकोटाले नेपाली साहित्य र समाजलाई दिएका कृतीहरूबारे अहिले पनि पर्याप्त अध्ययन र छलफल हुनुको साटो सतही विश्लेषण मात्र गर्ने गरिएको भन्दै देवकोटाका हरेक रचना जीवनका लागि मार्गदर्शक रहेको उहाँले बताउनुभयो । उहाँले देवकोटाका केही रचना पाठ समेत गर्नुभएको थियो ।
त्यस्तै आचार्यले देवकोटाको विराट काव्यिक छवि र उनका सिर्जना हेर्दा उहाँभित्र अध्यात्मको अथाह प्रभाव थियो भन्ने पुष्टि हुने दाबी गर्नुभयो । निरौलाले देवकोटाले १० वर्षको उमेरमा लेखेको पहिलो कविता र उनको अन्तिम रचनामा पनि ईश्वरीय चिन्तन र चेतना रहेको पाइएकाले उहाँलाई भौतिकवादी थिए भन्न नमिल्ने तर्क गर्नुभयो ।
दाहालले आफूले सानैदेखि गाउँ गाउँमा मुनामदनको प्रभाव देखेको र पछि बुझ्ने भएर देवकोटाका गद्य र पद्य दुवै रचना पढ्न थालेपछि उहाँभित्रको विशाल ज्ञान सागरभित्र आफू हराउँदै गएको सन्दर्भ स्मरण गर्नुभयो । मैनालीले कुनै पनि कुरालाई कसरी लिने हो त्यस्तै पाइन्छ भन्दै देवकोटा पनि एक विराट व्यक्तित्व भएकाले भौतिकवादी वा अध्यात्मवादी जसरी लियो उहाँ त्यस्तै रूपमा पाइने उल्लेख गर्नुभयो ।
कोइरालाले देवकोटाहरूजस्ता केही ज्ञानीका कारण हामीहरू लठुवा हुनबाट जोगिएको भन्दै नेपाली साहित्य क्षेत्रमा उनले दिएको योगदानबाट समाज सधैँभरि लाभान्वित हुने बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।