“हिमालयन फेस्टिभल अफ आर्ट्स एण्ड लिटरेचर” ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा देवकोटाको जन्मजयन्तीको अवसर पारी विश्वव्यापी खुला कला प्रतियोगिताको आयोजना गर्ने भएको छ।

उक्त खुला कला प्रतियोगितामा जुनसुकै उमेर र मुलुकका नागरिकले भाग लिन पाउने कुरा फेस्टिभल निर्देशक अजयमणि पौडेलले बताउनुभयो ।

प्रतियोगितामा भाग लिन चाहनेले देवकोटाका विभिन्न कालखण्डका स्केच तथा पेन्टिङ बनाउन सक्ने छन् । उक्त कलाकृति लक्ष्मी पूजाको अघिल्लो दिन अर्थात् २०७८ कार्तिक १७ गते राति १२ बजेभित्र गुगल फर्मको लिंक (https://forms.gle/EFT2HtJysccATxvJ7)मार्फत पठाउनु पर्ने बताइएको छ। त्यसरी प्राप्त कलाकृतिमध्ये उत्कृष्ट एकलाई रु ५००० तथा सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएको एकलाई रु ३००० नगदले पुरस्कृत गरिने छ।

छनोट भएको एक साताभित्र एक समारोहका बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ भने पुरस्कृत कलाकृतिहरूलाई “हिमालयन फेस्टिभल अफ आर्ट्स एण्ड लिटरेचर” द्वारा प्रकाशित गर्न लागेको पत्रिकामा पनि समावेश गरिनेछ ।

“हिमालयन फेस्टिभल अफ आर्ट्स एण्ड लिटरेचर” द्वारा निकट भविष्यमा आयोजना गर्न लागिएको बृहद् अन्तर्राष्ट्रिय कला तथा साहित्य महोत्सवमा अहिले भाग लिएका सम्पूर्ण कलाकृतिलाई प्रदर्शनीमा राखिने जानकारी फेस्टिभल निर्देशक पौडेलले दिनुभयो ।